अन्तर्राष्ट्रिय युवा दिवस मनाइने

अन्तर्राष्ट्रिय युवा दिवस मनाइने

काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्यरुपमा मनाइने भएको छ । साउन २७ गते सो दिवस मनाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुनेगरी काम गर्न प्रेरित गर्ने उद्देश्यकासाथ सो अन्तर्राष्ट्रिय दिवस मनाउन बिहीबार सो मूल समारोह समिति गठन गरिएको मन्त्री गहतराजले बताए ।

दिवसलाई देशव्यापी बनाउन सबै प्रदेश र स्थानीय तहमा पनि विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी मनाउन आग्रह गरिने मन्त्री गहतराजले जानकारी दिए । सो दिवसको अवसरमा राष्ट्रियसभा गृहमा विशेष समारोह आयोजना गरिने बताइएको छ । सभारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

सो दिन बिहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुने बस्नेतले बताए । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्काउट, राष्ट्रिय खेलकुद परिषदबाट समेत सहभागिता हुने बताइएको छ । ‘अन्तरपुस्ता ऐक्यवद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा प्रतिवद्धता’ यस वर्ष मूल नारा तय गरिएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रुपमा सो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया