शिक्षा विकास तथा समन्वय एकाइको नाम जिल्ला शिक्षा कार्यालय नै राखिने

शिक्षा विकास तथा समन्वय एकाइको नाम जिल्ला शिक्षा कार्यालय नै राखिने

काठमाडौंः सरकारले शिक्षा विकास तथा समन्वय एकाइ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गर्ने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइको नाम जिल्ला शिक्षा कार्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम शिक्षा विभाग नाम राख्ने भएको छ ।

विगतमा रहेको जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामाकरण गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सरकारको तयारी छ । विषयगत मन्त्रालयका रुपमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण गर्ने प्रस्ताव लैजादै छ ।

२०७५ साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ नामाकरण गरेको थियो ।

शिक्षा मन्त्रालयका उपसचिव डा.कुल खनालले भने, ‘भूमिका समन्वयकारी भएपनि पपुलर नाम भनेको जिल्ला शिक्षा कार्यालयनै हो । शिक्षा विकास तथा समन्वय एकाइ भन्दा जनतालाई पनि निकै गाह्रो भयो । शिक्षा विभाग भनिराखेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र भन्दा अफ्ठेरो अफ्ठेरो भयो । भूमिका चाहिँ आ-आफ्नो हुन्छ । नामले खासै फरक पर्दैन । शिक्षा कार्यालय र शिक्षा विभाग राख्ने भनेर आवाज उठिरहेको छ ।’

प्रतिक्रिया