किशोरी आमाहरुका कुरा

किशोरी आमाहरुका कुरा


दैलेख – गुराँस गाउँपालिका–८ लालीकाँडाकी १८ वर्षीया यशोदा खड्का तीन वर्ष अघि ८ कक्षा पढ्दै गरेको गाउँकै सुमित ओलीसंग प्रेमविवाह गरिन् । विवाहपछि सुमितले विद्यालय जाँदै गरे तर यशोदा बुहारी भएर घरधन्दा गर्दै व्यस्त भइन, विद्यालय छुट्यो ।

यसाेदा खड्का
यसाेदा खड्का र उनका साथीहरु

विहानै उठेर घरका लिपपोत, कुटिपिसी सकेर, आधा घण्टा जान मात्रै लाग्ने धारामा पुगेर पानी ल्यायो अनि मात्र अघिल्लो दिन बचेको रोटी चुल्होमा तताइवरी चियासंग खायो । अनि डोको बोकेर घाँस काट्न बन गयो । घाँस ल्याएर दिउँसो खानापछि दाउरा खोज्न फेरि बन पुग्ने दैनिकी बन्यो ।
दैनिकीको यो निरन्तरतामा बेलुका घरमा पुगेपछि पाकेको खाना खाइवरी जुठा भाँडा धोई सकेर चुल्हो लिपपोत ग¥यो । भोलिपल्ट पनि नियमित यस्तै घरधन्दामा व्यस्त भएपछि उनले विद्यालय पढ्न जान पाउने कुरै रहेन ।
घरायसी काममा राम्रो गरेर सासु–ससुरा, दुई जेठाजु–जेठानी दिदी समेतलाई खुशी पार्न उनको ध्याउन्य भयो । ठूलो खेती भएकोले हिउँद–वर्षै खेतबारीको धन्दा, गाईभैंसी–गोरु पाल्नु र मेलापात घरकी कान्छी बुहारी भएकोले उनले बढी सक्रियता जनाउनुपर्ने भयो, त्यसै गरिन् ।
‘वर्षाको समय रोपाई, असोज–कात्तिकमा वर्षे खेती स्याहार्ने र हिउँदे खेती लगाउने काम अनि बर्षे खेतीलाई मलको जोहो गर्न जाडो याममा स्याउलाको बल गर्नुपर्ने बेला हरेक दिन यो दैनिकीमा थप कामको बोझ बढेको हुन्छ’ यशोदाले भनिन् ।
विवाह भएको तीन वर्षमा सुमितको पढाई अहिले कक्षा ११ को परीक्षा सकेर बसेका छन् । यशोदाको काखमा ५ महिनाको छोरा छ, नविन नाम दिइएको उनको छोरालाई धरमपोखरा स्वास्थ्य चौकीमा खोप लगाउन आएको बखत यशोदाले आफ्नो दैनिकी कस्तो छ ? भन्ने बताएकी हुन् ।
कानूनले विवाह गर्ने उमेर नपुगेको कारण व्यवहारिकता विवाह गरेकी यशोदाको विवाहदर्ता र नागरिकता बनेको छैन । वडा कार्यालयले यशोदा आमा र सुमित बुबा जनाएर नविनको जन्मदर्ता चाहिं बनाइदिएको छ । आमाबुबाको उमेर नपुगेकोले विवाहदर्ता गर्न नमिले पनि जन्मने सन्तानको जन्मदर्ता गराउन सकिने भएकोले बालकको जन्मदर्ता गराइएको गुराँस गापा–८ का वडासचिव सुस्मिता खड्काले बताइन् ।
दैलेखकै भगवतीमाई गाउँपालिका–५ कट्टी देवलटोलकी रोशनी बिक सात वर्ष अघि १३ वर्षको उमेरमा २०७२ को चैतमा ९ कक्षाको पढाई छोडेर भगवतीमाई गाउँपालिका–५ थुवाका भीमबहादुर बिकसंग भागी विवाह गरिन् । २०७४ जेठ ८ गते उनीहरुको पहिलो सन्तान छोरा रोहित बिकको जन्म भयो ।

राेशनी विक

भीमबहादुरले गरिखाने पेशा सिक्न ट्रयाक्टरको सहचालक भएर काम गर्दै थिए । यही क्रममा २०७६ माघ १० गते छिमेकी गाउँ मनघरमा भएको ट्रयाक्टर दुर्घटनामा उनको मृत्यू भयो । उनको मृत्यूले प्यारालाइसिस भएर जखम भएका ससुरा रामबहादुर बिक, सासु कौशिला र देवर हरि समेतको सहारा टुट्यो ।
मेलापात, मजदूरी र कुटोकोदालो गरेर पहिले जेनतेन खर्च धानेको परिवार ट्रयाक्टर दुर्घटनामा भीमबहादुरको मृत्यूपछि भने बेसहारा बनेको हो । भीमबहादुरको मृत्यूपछि घरपरिवारले रोशनीलाई ‘अलछिना’ भन्न थालेका छन् । श्रीमान्को निधनको पींडा, छोराको भविष्यको चिन्दा छँदैछ अव उनलाई परिवारबाट घरेलु हिंसा सुरु भएको छ ।
पन्ध्र वर्षको उमेरमा आमा बनेकी रोशनी अहिले २० वर्ष भइन् । उमेर नपुगी विवाह गरेको कारण उसबेला उनले विवाहदर्ता र नागरिकता बनाउन पाइनन् । अहिले उमेर पुगेपछि परिवारजन मद्दत गरेको भए नागरिकता पाउन सक्थिन् तर काहीँ न काहीँ पोइल गइहाल्छे होला किन चाहियो ? भनेर नागरिकता बनाउन परिवारजन तयार छैनन् ।
‘विवाह भइसकेकी छोरीलाई माइतबाट नागरिकता बनाउन पनि नमिल्दो रैछ, घर जहानले बनाइदिनन्न्’ रोशनीले भनिन् । छोरा जन्मँदै जन्मदर्ता बनाएको तर आफ्नो विवाहदर्ता र नागरिकता नभएको उनले बताइन् ।
माइतीकी माइली छोरी रोशनी अहिले ५ वर्षको छोरा रोहित सहित माइतीमा बस्तै आएकी छिन् । उकी एक दिदी राजु विवाह भइसकेको छ । रोशनीपछिका ४ वटा बहिनीहरु कमला, शर्मिला, श्रृष्टि र अस्मिता समेत सबै पढ्दैछन् । उनी छ बहिनी र एउटा मात्र भाई छन् । उनको भाई विकास अहिले एसईई दिएर नतिजा पर्खिरहेका छन् ।
‘भाग्यले ठगेपछि १७ वर्षको उमेरमा विधवा बनेकी छोरी घरपरिवारबाट पनि अपहेलित भएर आएपछि मजदूरी गरेर दिन गुजारा गरिरहेको आफूले छोरी र नाति समेत बोझ लिनु परेको छ’ रोशनीका बुबा टेकबहादुर बिकले भने ।
‘पढाई राम्रै थियो, ऊ बेला पढाई छोडेर भागेर विवाह गरी अनि अहिले दुभाग्यबस विधवा भई । न घरमा राम्रो छ, न त हामी माइतबाट सहयोग गर्न सक्छौं । नातिको पढाईलेखाई के होला ? छोरीको भविष्य के होला ? भनेर पीर लाग्छ’ रोशनीकी आमा गौमती बिकलाई चिन्ता छ ।
‘यशोदा र रोशनीको चिन्ता परिवारलाई मात्र होइन अव सामाजिक सरोकार बनेको छ । पहिले कन्यादान गर्ने संस्कारको प्रभाव अहिले बालविवाह भइरहेको छ । यो सबै पुरानो परम्पराको निरन्तरता तर बदलिएको रुपमा छ, बालविवाह रोकथामलाई जोडदार अभियान आवश्यक छ’ नागरिक समाज दैलेखका संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिले टिप्पणी गरे ।
बालविवाह रोकथामका लागि अभियान चलाइरहेको जिल्लाको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) महिला तथा बालबालिका सेवा केन्द्र बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठको भनाईमा बालविवाह रोकथाममा स्थानीय सरकारकै अग्रसरता जरुरी छ ।
दैलेखमा वर्षेनी १०–१२ वटा बालविवाह घटना अदालतसम्म पुग्छन् । सबैजसोमा प्रेमविवाह गरेको स्वीकार गरेकाले बालविवाह घटनाको कसूरदार केटा र केटी दुबैलाई सजाय हुने गरेको छ । सजाय तोकेर पनि सजाय स्थगन गर्ने नियम अनुसार बालसुधार गृह पनि नपठाई आआफ्ना अभिभावकको जिम्मा छाड्ने गरिएको छ ।
बालबालिका सम्वन्धी कानून र बालन्याय कार्यविधिले कसूरको मात्र हेरी सजाय स्थगन गर्नसक्ने व्यवस्था अनुसार बालविवाहका आरोपित कसूरदार सबैले सहुलियतमा अभिभावकको जिम्मा छाड्ने गरिएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत उपसचिव इन्द्रबहादुर कार्कीले बताए ।
२०६८ को जनगणना अनुसार दैलेख बालविवाह अधिक हुने जिल्लामा तेश्रो स्थानमा छ । तथ्यांक अनुसार ३२ दशमलव २५ प्रतिशत बालविवाह हुने गरेको छ । तथ्यांकले जनाएका भन्दा पनि बढी बालविवाह भएको मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक पत्रकार विशाल सुनारको प्रतिक्रिया छ ।
कोरोना रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञा समयमा विद्यालय बन्द भएको कारण घरमा हेरचाह नपुगेको कारण १५–१८ उमेर समूहका धेरै बालबालिकाले बालविवाह गरेको सामाजिक अगुवाहरुको भनाई छ ।

 

प्रतिक्रिया