एमाले हनुमानजस्तो भयो : नेता पौडेल

एमाले हनुमानजस्तो भयो : नेता पौडेल

काठमाडौँ :  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले हनुमानजस्तो पार्टी भएको गुनासो गरेका छन् । बिहीबार ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जडिबुटी ल्याउन भनेर पठायो भने पहाड नै बोक्ने तर पहाड बोकेको थाहा नपाउने अवस्थामा पुगेको बताएका हुन् ।

‘एमाले हनुमानजस्तो भैसक्यो । जडिबुटी ल्याएर आउनुस् भन्दा पहाड बोकेर आउँछ । तर पहाड बोकेको थाहा पाउँदैन । त्यस्तो भएको छ एमाले’, पौडेलले कार्यकर्ताहरुलाई भने, ‘विचार, संगठन र जनमतको तागत एमालेले थाहा पाउनुपर्यो । कटुता, वैमनस्यता हटाउँदै गतिशील बनाउँदै बलियो र व्यवस्थित पार्टी निर्माण गर्नुपर्छ ।’ उनले गठबन्धन मात्रै होइन महागठबन्धन भयो भनेपनि परास्त गर्ने जनमत निर्माण गर्नसक्ने तागत एमालेसँग रहेको पनि बताए ।

उनले एमालेको तागत देखेर नै अत्तालिएर मुलुकका ५ प्रकारका अरु शक्तिमध्ये ३ प्रकारका शक्तिहरु एक ठाउँ आएर एमालेविरुद्ध लागेको बताए । ‘नेपालको सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले यसलाई एक्लै जित्न नसक्ने भएकाले मुलुकमा भएका ५ प्रकारका प्रवृतिहरुमध्ये ३ प्रकारका प्रवृति एक ठाउँमा उभिएका छन् । एकातिर एमाले अर्कोतिर गठबन्धन यो अहिलेको राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन हो’, पौडेलको भनाइ छ ।

उनले एमालेका नेता कार्यकर्ता र सदस्यलाई आफ्नो ताकत बुझाउनुपर्ने भएको भन्दै गतिशील पार्टी बनाउन जरुरी रहेको बताए । उनले एमाले आउने निर्वाचनमा सवैभन्दा ठूलो पार्टीका रुपमा निर्वाचित हुने दावी समेत गरे ।

प्रतिक्रिया