स्थायी सरकारले दिने पो हो माग्ने होइन –पण्डित
दैलेख, भदौ २२ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले निजामती कर्मचारीको ट्रेड यूनियनले राजनीतिक नेतृत्व र सरकारसंग अधिकार र सुविधा मागेको कुरा नमिल्दो प्रक्रिया भन्नु भएको छ ।
निजामती सेवा दिवसको अवसर पारेर दैलेखमा आज भएको विचार विमर्श कार्यक्रममा ्उहाँले भन्नुभयो ‘कर्मचारी संयन्त्र स्थायी सरकार हो, आफै अरुलाई दिने दिने ठाउँमा बसेर अधिकार र सुविधा मागेको सुहाउदैन ।’ जिल्ला न्यायाधीश पण्डितको टिप्पणी थियो कर्मचारीले एशियाकै गरीब देशमा जनताको जीवनस्तर उठानेमा चिन्ता राख्नुपर्नेमा कर्मचारीहरु आफैले मात्र सुविधामाथि सुविधा खोज्नु राम्रो होइन ।
निजामती सेवा दिवस जिल्ला समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु स्थायी सरकार मानिएको राष्ट्र सेवक कर्मचारीहरुको दायित्व रहेको औल्याउनुभयो । ‘जनतलाई हित हुने काम गर्न सके मात्र कर्मचारीहरुलाई राष्ट्र सेवक भनेको शब्द शोभा दिन्छ’ प्रमुख जिल्ला अधिकारीले भ्रन्नुभयो । उहाँले त्यसबखत यो वर्षको नारा जस्तै सेवामैत्री र जवाफदेही सुशासन कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
सदरमुकामको गणेशचोकबाट आरम्भ भएको प्रभातफेरीले नगरपरिक्रमापछि जिविस सभाहलमा गरिएको विचार विमर्श कार्यक्रममा स्थानीय राजनीतिक दल, विभिन्न पेशा व्यवसायका प्रमुख तथा प्रतिनिधिहरुले नेपालको निजामती कर्मचारी प्रशासनले हालसम्म गरेका उल्लेख्य कार्य र सुधार गर्नुपर्ने पक्ष बारे विचार राख्नुभएको थियो ।
प्रतिक्रिया