हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी

हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी

सिन्धुपाल्चोक :  हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी आएको छ । बाढीका कारण मेलम्ची र हेलम्बुका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।

मेलम्चीको सिमखेत, मेलम्ची नगरपालिका-२ निवुगाउँ, मेलम्ची(भोताङ सडक खण्डमा पर्ने राम्चे, हेलम्बुको ढुङ्ग्रे बजार लगायतमा बाढीले सडक अवरुद्ध पारेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए । हिजो रातिको बाढीका कारण हेलम्बुको ग्याल्थुम बजार जोखिममा परेको बताए ।

इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सिनाका अनुसार हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ को शिरिषेमा पहिरोले एउटा गोठ पुर्दा तीन वटा बाख्रा मरेका छन् । यो पहिरोका कारण ७ वटा घर जोखिममा परेका उनले बताए ।

अरनिको राजमार्ग अन्तर्गत जुरेमा लेदो माटोसहित आएको पहिरोले सडक पुरेको र अहिले खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

यस्तै, बाढीले साँधीखोलामा रहेको ह्युमपाइप बगाएपछि ठूला मालवाहक गाडी आवतजावतमा समस्या भएको उनले बताए । आज बिहान यो खोलामा एउटा मालवाहक ट्रक खसेको तर मानवीय क्षति भने नभएको प्रहरी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया