मन्त्री सिफारिस गर्न पूर्व मुख्यमन्त्रीलाई जिम्मा दिने निर्णय

मन्त्री सिफारिस गर्न पूर्व मुख्यमन्त्रीलाई जिम्मा दिने निर्णय

सुर्खेत : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले मन्त्रीको टुंगो लगाउन दलका नेतालाई जिम्मा दिएको छ । आज बसेको संसदीय दलको बैठकले रिक्त रहेको मन्त्रीको सिफारिस विषयमा टुंगो लगाउने जिम्मा दलका नेता एवं पूर्व मुख्यमन्त्रीलाई जिम्मा दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिए लगत्तै नयाँ मन्त्री सिफारिसको लागि बैठक बसेको थियो । ‘आज बसेको दलको बैठकमा व्यापक रुपमा छलफल भयो तर, मन्त्रीको टुंगो भने लगाएको छैन,’ प्रमुख सचेतक कृष्णा शाहले भनिन्, ‘यसको जिम्मा अब दलका नेताले लगाउने भन्ने निर्णय भएको छ ।’

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा गैरसांसद नियुक्त भएका लामाको कार्यकाल सकिएको छ । लामाको कार्यकाल सकिएपछि नयाँ मन्त्री सिफारिस गर्न सोमबार बसेको नेकपा माओवादी संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गियो ।

अन्य मन्त्री हेरफेर र समानुपातिक सांसदको कुरा उठेपछि बैठक निष्कर्षविहीन भएका हो । पुराना मन्त्री हेरफेर गरेर नयाँलाई अवसर दिने विषय उठेपछि सहमति हुन नसकेको हो । पार्टीमा आवश्यक छलफल गरी विवाद टुङ्ग्याउने जिम्मा संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको संसदीय दलकी प्रमुख सचेतक शाहले बताइन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिफारिसमा लामालाई २०७८ माघ २३ गते मन्त्री नियुक्त गरेका थिए । सांसद नरहेका व्यक्ति ६ महिनाका लागि मन्त्री बन्न सक्ने व्यवस्था छ ।

लामाको कार्यकाल आज (सोमबार) सकिएकाले उनको ठाउँमा सिफारिस गर्न लागिएको हो । यसअघि माओवादी डोल्पाका सांसद वीरबहादुर शाहीलाई मन्त्री बनाउने चर्चा चले पनि अन्तत: गैरसांसद लामालाई मन्त्री बनाएपछि आलोचना बढेको थियो ।

 

 

प्रतिक्रिया