यसपालि देउवालाई हराउनुपर्छ, नत्र उनले देश बेच्छन् : कर्ण मल्ल

यसपालि देउवालाई हराउनुपर्छ, नत्र उनले देश बेच्छन् : कर्ण मल्ल

धनगढी :  नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले अबको प्रतिनिधि सभाको निर्वाचनमा सबै मिलेर प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई पराजित गर्नुपर्ने बताएका छन्। सोमबार बोलन्या थली धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देउवा छैठौं पटक प्रधानमन्त्री भए देश बेचिने तर्क गरेका हुन्।

‘एमसीसी, एसपीसी र नागरिकता विधेयक ल्याएर विदेशी दलाललाई यो देश बेच्न उहाँ लागिरहनुभएको छ। २०५१ सालको निर्वाचनबाट हालसम्म उहाँले पश्चिम सेतीको नारा लगाइरहनु भएको छ।

सुदूरपश्चिमका सबैलाई रोजगारी दिन्छु भनेर उहाँले ठगिरहनु भएको छ’ मल्लले भने, ‘त्यसैले यसपालि सबै मतदाता मिलेर उहाँलाई हराउनुपर्छ, नत्र छैठौंपटक प्रधानमन्त्री हुनुभयो भने उहाँले देश बेच्नुहुन्छ।’

प्रधानमन्त्री देउवाले बारम्बार डडेल्धुराका नागरिकलाई झुटो आश्वासन दिइरहेको मल्लले तर्क गरेका छन् । उनले देउवा निर्वाचनका बेलामात्रै जिल्लामा आउने र त्यसछि मुख नदेखाउने बताएका छन्। ‘उहाँले डडेल्धुराका जनतालाई रैतीको रुपमा हेर्छन्’ मल्लले भने ।

यस्तै देउवाले २०७४ सालदेखि हालसम्म आफ्नो सम्पत्ति सार्वजनिक नगरेको उल्लेख गर्दै मल्लले अब सुदूरपश्चिमका हरेक नागरिकले उक्त प्रश्न गर्नुपर्ने बेला आएको बताएका छन् ।

 

प्रतिक्रिया