निर्वाचनमा खटिने कर्मचारीको २० लाखको सामूहिक दुर्घटना बीमा हुने
काठमाडौं : मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमा हुने भएको छ । जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले निर्वाचनमा खटिने कर्मचारीलाई दुर्घटना बीमा बापत २० लाख रूपैयाँ उपलब्ध गराउने भएको हो।
ललितपुरमा आयोजित निर्वाचन बिट हेर्ने पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम भइसकेको बताए।
उनका अनुसार निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन भएको कर्मचारी हुनेछन् पौडेलले मुख्य निर्वाचन अधिृकतमा जिल्लामा न्यायाधीश खटाइने बताए ।
७७ जना जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतमा (न्याय सेवाका रा.प द्धितिय श्रेणीका कर्मचारी) ८८ जना गरी कुल १६५ जना कर्मचारी परिचालन गरिने उनले जानकारी दिए।
जनशक्ति नपुगेमा मात्र अन्य निकायबाट खटाइने उनको भनाइ छ। पौडेलले भने, मतदाता संख्या र मतदान केन्द्रको आधारमा कर्मचारी खटाइनेछ। निर्वाचनमा ५७ प्रकारका सामग्रीको प्रयोग गरिने उनले जानकारी दिए।
निर्वाचन आयोगबाट ४२ र जिल्लास्थित कार्यालयबाट १५ प्रकारका सामग्री खरिद हुन्छ, उनले भने। यसअघि प्रयोग गर्न बाँकी रहेका सामग्रीसमेत प्रयोग गरिने उनले बताए। सामग्री खरिद टेण्डर आव्हानबाट गरिन्छ, उनले सुनाए, खरिद प्रक्रिया अगाडि बढिसकेको छ।
प्रतिक्रिया