सुर्खेतमा माओवादी केन्द्र जुट्यो चुनावी तयारीमा

सुर्खेतमा माओवादी केन्द्र जुट्यो चुनावी तयारीमा

सुर्खेत :  आगामी मङ्सिर ४ मा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएसँगै सुर्खेतमा नेकपा (माओवादी केन्द्र) चुनावी तयारीमा जुटेको छ । पार्टीको साङ्गठानिक अवस्थालाई सुदृढ पार्न र चुनावी लेखाजोखा गर्नका लागि नेताहरू गाउँ केन्द्रित बनेका हुन् ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा माओवादी केन्द्र तेस्रो राजनीतिक दलको रूपमा रहेको छ । ०७४ मा कुनै पनि स्थानीय तहको नेतृत्व नपाएको माओवादीले गत वैशाख ३० मा सम्पन्न निर्वाचनमा एउटा पालिकाको नेतृत्व पाएको छ भने विगत भन्दा जनधार बलियो बन्दै गएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप) ले बताए ।

उनका अनुसार सुर्खेतमा माओवादीले आम निर्वाचन लक्षित गाउँ अभियान, अभिमुखीकरण कार्यक्रमहरू गर्न सुरु गरिसकेको अवस्था छ । यसअघि नै १ र २ नम्बर निर्वाचन क्षेत्र स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । आसन्न निर्वाचनमा माओवादीले गठबन्धन भएको खण्डमा एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभामा दाबी गर्ने देखिन्छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं कर्णाली सरकारका अर्थ मन्त्री विन्दमान विष्टले सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित पार्टी सुदृढीकरणमा अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

उनले आगामी निर्वाचनका लागि सङ्गठन निर्माण नै अहिलेको प्रमुख काम रहेको उल्लेख गर्दै उनले विगतको कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताए । ‘चुनावमा हारजित प्राविधिक विषय हो,’ सोमबार बराहताल गाउँपालिकामा माओवादी कार्यक्रममा उनले भने,‘ पार्टीलाई बलियो बनाउन तल्लो तह सम्म सङ्गठन निर्माण अपरिहार्य छ ।’

विष्टले विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएकोले समस्या मात्र देखाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । जिल्ला इञ्चार्ज मल्लले पार्टी सिद्धान्त र व्यवहारतः एकै किसिमको हुनुपर्नेमा जोड दिए । उनले आरोप प्रत्यारोपमा नलागेर पार्टी निर्माणमा एक ढिक्का भएर उभिन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया