सल्यानबाट उम्मेदवारमा प्रकाश ज्वाला सिफारिस

सल्यानबाट उम्मेदवारमा प्रकाश ज्वाला सिफारिस

सल्यान :  नेकपा एकीकृत समाजवादीले सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उपमहासचिव प्रकाश ज्वालालाई सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानबाट ज्वालाको नाम सिफारिस गरेको हो ।

एकीकृत समाजवादीको कर्णाली प्रदेश इन्चार्ज समेत रहेका ज्वाला २०५६ र २०७० मा सल्यानबाट निर्वाचित भएका थिए । २०७४ मा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेपछि मुख्यमन्त्रीको आश्वासनसहित उनी प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए ।

सल्यानको प्रदेशसभा निर्वाचन ‘ख’ बाट निर्वाचित उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा भएको विवादसँगै प्रदेश सरकारलाई निरन्तरता दिन ‘फ्लोरक्रस’ गरेपछि नेकपा एमालेको कारवाहीमा परेका थिए ।

यसपटक सत्तारुढ गठबन्धनको सहयोगमा प्रतिनिधिसभा क्षेत्रको उम्मेदवार बन्ने गरी ज्वालाको नाम एकल रुपमा सिफारिस गरिएको जिल्ला समितिका एक सदस्यले बताए ।

बैठकले संघको समानुपातिकतर्फ दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभातर्फ ‘क’ तर्फ लोकबहादुर डाँगी, प्रेमा अधिकारी र जीवन बिसी सिफारिस भएका छन् । ‘ख’ तर्फ भद्रसिंह बुढा, शारदा परियार र हरि केसी सिफारिस भएका छन् ।

 

प्रतिक्रिया