बलात्कारको आरोपमा लामिछानेमाथि अनुसन्धान अगाडि बढाएका छौँ : प्रहरी

बलात्कारको आरोपमा लामिछानेमाथि अनुसन्धान अगाडि बढाएका छौँ : प्रहरी

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटक-पटक बलात्कार गरेको आरोप लगाएकी हुन् ।

पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका हुन् । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।’

त्यस्तै प्रहरीले पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा विस्तृत स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘अहिले अनुसन्धानको प्रारम्भिक चरणमै छ । अनुसन्धानमा कुनै पनि कसुर नराखी तथ्यप्रमाण जुटाउँछौँ ।’ लामिछानेलाई कसरी ल्याउनुहुन्छ भन्ने प्रश्नमा बोहराले भने, ‘त्यो पछिको कुरा हो । अहिले जाहेरीका आधारमा अनुसन्धानमा छौँ।’

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।

लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए । उनले केन्यासँगको एकदिवसीय शृङखला भने खेलेका थिएनन् । इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार कसुर पुष्टि भए लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ ।

प्रतिक्रिया