प्रतिष्ठानका स्वास्थ्यकर्मीको सामूहिक राजीनामापछि मारमा बिरामी

प्रतिष्ठानका स्वास्थ्यकर्मीको सामूहिक राजीनामापछि मारमा बिरामी

जुम्ला :  केही समयअघि काठमाडौँमा भयावह बनेको स्वास्थ्यकर्मीको आन्दोलन रोग कर्णाली सरेको छ । बिरामी वा बिरामीका आफन्तले असन्तुष्टि जनाएर डाक्टरमाथि हमला गर्दा सारा अस्पताल नै ठप्प पार्ने प्रवृत्ति अहिले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको हो ।

जहाँ आफ्ना सहकर्मी पक्राउको विरोधमा प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उनीहरुले त्यसरी राजीनामा गर्नुको कारण सुरक्षा नभएको बताएका छन् । चिकित्सकले राजीनामाको घोषणा गर्दै गर्दा, त्यसका लागि बैठक बस्दै गर्दा जुम्लाको प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामी भने मारमा परेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावललाई पत्र बुझाउँदै उनीहरुले राजीनामा दिने चेतावनी दिएका हुन् । उपचारका क्रममा डाक्टर करण शाहले बाल हिंसा गरेको भन्दै बिरामीका आफन्तले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । डा. शाहमाथि हमला भएको स्वास्थ्यकर्मीको आरोप छ । तर यसलाई प्रतिष्ठानका अरु डाक्टरले सुरक्षाको विषयसँग जोडेर आन्दोलन चर्काएका छन् ।

‘इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा. करण साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह छ। जसकारण हामी सामूहिक राजीनामा दिन बाध्य छौं,’ उनीहरुले उपकूलपति रावललाई बुझाएको पत्रमा लेखिएको छ, ‘यसै घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा. करणमाथि नै झुट्टो मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गर्नु, शान्तिपूर्णरुपमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि स्थानीय केही अराजक व्यक्तिहरुले नाबालकलाई प्रयोग गरी मुठभेटको अवस्था सिर्जना गर्ने प्रयास गरिएको प्रति दुःख व्यक्त गर्दछौं।’

आन्दोलनमा उत्रिएका डाक्टरले शान्ति सुरक्षा माग गरेका छन् । साथै उनीहरुले डररहित अस्पतालमा काम गर्ने वातावरण हुनुपर्ने पनि माग गरेका छन् । साथै डा।शाहमाथिको आरोप तथा मुद्दा खारेज गर्नुपर्ने बताएका छन् ।

जुम्लाको एक बोर्डिङ स्कुलमा अध्ययन गर्ने चन्दननाथ नगरपालिका–२ जुम्लाका ६ वर्षीय बालकको उपचारका क्रममा हिंसा गरेको भन्दै बिरामीका आफन्तले डा।शाहमाथि आक्रमण गरेका थिए । जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बिरामीका आफन्तले डाक्टरको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रहरी र प्रशासनमा उजुरी दिएपछि डा।शाहमाथि पक्राउ पुर्जी जारी भएको थियो । जसको विरोधमा डाक्टरहरु सामूहिक राजीनामा दिँदै उपचार गर्न हच्किएका छन् ।

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले घोषणा गरेको सामूहिक राजीनामा पत्र 

 

प्रतिक्रिया