तनाव व्यवस्थापन कसरी गर्ने ? यस्ता छन् उपाए

तनाव व्यवस्थापन कसरी गर्ने ? यस्ता छन् उपाए

सर्वसाधारण मान्छेहरूले मनोविज्ञानको अर्थ मनको विज्ञानसँग लगाएको पाइन्छ भने मनोवैज्ञानिकहरूले मानवीय व्यवहार र मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन गर्नु हो भनेका छन् ।

लामो समय घरभित्रै बस्दा अनि एकै प्रकारका मानिसहरूसँग निरन्तर सम्पर्कमा रहँदा र एकै प्रकारको दैनिकी बिताउँदा मान्छेको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले अहिले लकडाउनका बेला हामीले मानसिक स्वास्थ्यमा ध्यान दिनु निकै जरुरी छ ।

करिब ७० दिनदेखि हामी (नेपालीहरू) पनि बन्दाबन्दीको अवस्थामा छौँ । नेपाल प्रहरीका अनुसार यो अवधिमा गत वर्षको तुलनामा आत्महत्याको मात्रा १६ प्रतिशतले बढेको छ र यो समय मानसिक स्वास्थ्यबारे ध्यान दिनु आवश्यक छ ।

मानसिक तनाव के हो ?

मानसिक तनावरदबाब शब्द बुझ्न जति सजिलो छ, त्यति नै यसलाई व्याख्या गर्न कठिन छ । विभिन्न मनोवैज्ञानिकहरूले यसलाई भिन्न तरिकाले परिभाषित गरेको पाइन्छ । सन् १९३६ मा हान्स सेलएले यो शब्दलाई प्रयोगमा ल्याएका हुन् । उनका अनुसार हाम्रो शरीरले कुनै परिवर्तनको माग हुँदा देखाउने गैरविशिष्ट प्रतिक्रिया हो, जुन वातावरणीय मागहरूलाई स्ट्रेस भनिन्छ । सन् २००३ मा एस पी रविन्सले भनेका छन्– स्ट्रेस शरीरको त्यस्तो अवस्था हो, जहाँ व्यक्ति केही अवसर, अवरोध वा निजले चाहना गरेका परिणामहरू अत्यन्तै महत्त्वपूर्ण अनि अनिश्चित छ भनी सामना गरिरहेको हुन्छ, त्यो शरीरले आभास गर्दछ । सामान्य अर्थमा यसलाई मानसिक तनाव पनि भनिन्छ ।

युवा पुस्ताको जिम्मेवारी के हो ?

२० देखि ४० वर्ष उमेरकाहरूको यस्तो अवस्थामा विशेष जिम्मेवारी हुन्छ । युवा पुस्तामा मानसिक तनाव त्यति नहुने र शारीरिक क्षमता पनि बढी हुने भएकाले माथिल्ला पुस्ता र तल्लो पुस्ताको विशेष निगरानी गर्ने जिम्मा तिनले लिनुपर्छ । उनीहरूले माथिका र तलका पुस्ताबीच पुलको काम गर्नुपर्छ । पुस्ताहरूबीच समायोजनकारी भूमिका निर्वाह गर्नुपर्छ । परिवारमा रमाइलो वातावरण बनाउने काम उनीहरूले गर्नुपर्छ ।

युवा पुस्तामा पनि मानसिक तनाव भने हुन सक्छ किनकि जीवनको सबभन्दा सिर्जनशील उमेर यही हो । जीवनका अनेक आकांक्षा र सपना पूरा गर्ने उद्देश्य हुन्छ, त्यसमा अवरोध भएको महसुस भएको हुन सक्छ ।

तर उनीहरूले यो महामारीको असर केवल मलाई मात्र परेको होइन, मेरो देशमा मात्र परेको होइन, सम्पूर्ण विश्वभर नै परेको हो र यसको असर सबैमा बराबर परेको छ भनेर सकारात्मक भइरहनुपर्छ ।

नकारात्मक सूचनाले के गर्छ ?

हाम्रो शरीरबाट निस्कने न्युरो ट्रान्समिटर वा हर्मोनमा गढबढी हुन्छ । त्यो गढबढीले हाम्रो दैनिकी र जीवन प्रणाली नै अस्तव्यस्त हुन्छ । कोरोनासँग लड्न हामीलाई आवश्यक हुन्छ, रोग प्रतिरोधक क्षमता ।

दबाब हुँदा मानिसमा रोग हुने सम्भावना हुन्छ । जस्तो, कुनै व्यक्ति एकदमै डर, रिस, शत्रुतापूर्ण संवेगहरू देखाउँछ भने उसको स्वास्थ्यमा हर्मोनको गढबढी भई व्यक्ति झर्किने, आवेगमा आउने तथा आशाविहीन अनुभव गर्न थाल्छ । यसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाई मान्छे शारीरिक तथा मानसिक बिरामी हुन पुग्छ ।

के हो शरीरको रोग प्रतिरोध शक्ति ?

हामी एउटै वातावरणमा बस्दा पनि कसैलाई रोग लाग्छ भने कसैलाई लाग्दैन । यसो हुनुको मुख्य कारण मानिसमा भएको रोगसँग लड्न सक्ने क्षमता वा रोगप्रतिरोध शक्ति हो ।

के हो शरीरको सुरक्षा प्रणाली ?

हाम्रो छाला, नाकको स्लेस्म, टन्सिल, आँशु, र्याल, पाचन रस, पसिना आदिलाई पहिलो सुरक्षा प्रणाली भनिन्छ । यिनले रोगका सूक्ष्म जीवाणुहरू मार्दछन् । त्यस्तै, कोष, तन्तु, सेता रक्तकोषलाई दोस्रो किसिमको सुरक्षा प्रणाली भनिन्छ, जसले रोगका जीवाणुहरू मार्ने गर्छन् ।

शरीरमा उत्पन्न हुने प्रतिविषलाई तेस्रो किसिमको सुरक्षा प्रणाली भनिन्छ । शरीरमा जीवाणु प्रवेश गरे त्यसले शरीरभित्र विष उत्पादन गर्दछ । सुरक्षा प्रणाली कमजोर भई रोग लाग्छ । तर शरीरमा प्रतिरोध शक्ति उत्पन्न हुन्छ र रोगका किटाणुलाई नष्ट पारी विषाणुको प्रभावलाई कमजोर पार्दछ । यसरी यो काममा सहयोग गर्ने र प्राकृतिक रोग प्रतिरोधक कोष तीन वटैको दबाबमा विषाणुसँग लड्न मद्दत गर्दछ ।

साइको न्युरो इम्युनोलोजी के हो ?

यदि दिमागमा नकारात्मक कुराहरू रहे भने मस्तिष्कका रसायन विज्ञानमा समस्या भई रोग प्रतिरोध प्रणाली कमजोर हुने हुन्छ । मनोविज्ञानको यो अध्ययनले यदि हाम्रो दिमागले मस्तिष्कमा सकारात्मक सूचनाहरू सम्प्रेषण गरे भने तीन वटै सुरक्षा प्रणालीमा समरूपता कायम रहिरहन्छ र रोग प्रतिरोध प्रणाली बलियो हुन जान्छ । यो अध्ययन गर्ने शास्त्रलाई साइको न्युरो इम्युनोलोजी भनिन्छ ।

 

प्रतिक्रिया