शान्ति सुरक्षा कायम गर्न जागरणमा नेपाल प्रहरी

शान्ति सुरक्षा कायम गर्न जागरणमा नेपाल प्रहरी

रुकुमपुर्व :  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको संयुक्त आयोजनामा नागरिकलाई जागरण कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम र उपभोक्ताको हक सम्बन्धि जागरण कार्यक्रम सञ्चालन गरिएको हो ।

मङ्गलबार सिस्ने गाउँपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालय पोखरामा नागरिक जागरण कार्यक्रमको उद्घाटन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय मार्फत प्रहरीले नागरिक जागरण अभियान सुरु गरेको हो । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ प्रहरीले नागरिक जागरण कार्यक्रम सुरु गरिएको छ ।

लागु औषध बिक्री वितरण रोकथाम, चाडपर्वको समयमा शान्ति सुरक्षा र उपभोक्ताको हक सम्बन्धि सचेतनामुलक कार्यक्रम लिएर जिल्लाका विभिन्न माध्यमिक विद्यालय मार्फत नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने छ ।

जस अन्तर्गत पहिलो दिन मङ्गलबार मावि पोखरामा कक्षा ९–१२ का विद्यार्थीलाई लागु औषधको असर, चाडपर्वको समयमा शान्ति सुरक्षा र उपभोक्ताको हक सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।

यस चरणको कार्यक्रम सिस्ने, पुथाउत्तरगङ्गा र भूमे गाउँपालिका ३/३ माविलाई छनोट गरिएको डीएसपी डाँगीले जानकारी दिए । सिस्नेमा मावि पोखरासँग सिस्ने–८ को सानीभेरी मावि लम्पाकोट र सिस्ने–५ कोट मावि रुमालबारामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने डाँगीले जानकारी दिए ।

यसैगरी भूमे–२ को त्रिवेणी मावि काँक्री, भूमे–३ को शहिद शुक्र मावि सिमा र भूमे–६ को जनजागृत मावि महतमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ भने पुथाउत्तरगङ्गाका वडा नम्बर ५ को देउराली मावि हुकाम, १२ को पर्वत मावि कोल र १४ को सिद्धमण्डली मावि राङ्सीमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रत्येक विद्यालयमा एक घण्टा ३० मिनेटको समयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ । सचेतनामुलक कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले नकरात्मक क्रियाकलापलाई निषेध गर्दै जानका लागि यस कार्यक्रमको महत्त्वपूर्ण भुमिका रहने बताए ।

लागु औषध रोकथाम, शान्ति सुरक्षा कायमका साथै उपभोक्ताको हक संरक्षणका निम्ति स्वयम नागरिकलाई सतर्क बनाउनु पर्ने जिसस प्रमुखको भनाइ रहेको थियो । विद्यालय तहबाटको यस सचेतना कार्यक्रमले भावी पुस्तामा सकारात्मक सन्देश प्रभाह हुने उ धारणा रहेको थियो ।

यसैगरी शान्ति सुरक्षा कायम तथा अमनचयनलाई कुनै पनि किसिमको खल्ल आउन नदिनमा पूर्व गृहकार्य नै नागरिक जागरण अभियान रहेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए । नियम, कानुन सम्बन्धि कुरा नागरिकलाई जानकार गरिराखेमा मात्र पनि समाजमा घट्ने घटना कमी हुँदै जाने रेग्मीको भनाई थियो ।

 

 

सिक्नु पर्ने कुराहरू जो कोही व्यक्ति सानाबाट धेरै प्रभावित हुने भएकाले नागरिक जागरण अभियान विद्यालय मार्फत सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताए । विद्यालयमा विद्यार्थीलाई सिकाएका कुरा विद्यार्थी मार्फत आफ्ना घरपरिवार हुँदै समाजमा घटना न्यूनिकरणका सन्देश छिट्टै फैलिने प्रजिअ सुनुवारले बताए ।

 

प्रतिक्रिया