राष्ट्रपतिको कार्यशैलीप्रति ५ दलीय सत्ता गठबन्धन ससंकित
![राष्ट्रपतिको कार्यशैलीप्रति ५ दलीय सत्ता गठबन्धन ससंकित](https://snowberry.prixacdn.net/media/gallery_folder/satta_j7T33L3g3F_rvtg0lij5bme9u3ycxo0d5caj8tmklajpa8jcozmxrwkialez4gfvc0xok03.jpg)
नागरिकता विधेयक ‘गडबड’ गर्नसक्ने ठहर
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीप्रति ५ दलीय सत्ता गठबन्धन ससंकित बनेको छ । साथै गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयकमा गडबड गर्न सक्ने ठहर गर्दै सरकार र गठबन्धनले चाल्नुपर्ने सम्भावित कदमका बारेमा छलफल गरेको छ ।
मंगलबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले खोंचे थापेर ढिलाई गरेको भन्दै शंका गर्नुपर्ने अवस्था आएको ठहर गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार संवैधानिक राष्ट्रपतिले सार्वभौम संसदले गरेको निर्णयमा आनाकानी गर्नुले उनको कार्यशैली र नियतमाथि प्रश्न उठेको बताए ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिबाट भएको ढिलाईलाई लिएर छलफल भएको पुष्टि गरे ।
बैठकमा सहभागी अर्का नेताका अनुसार संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिला गरेर अनावस्यक राजनीति गर्न खोजेको हो कि रु भन्ने नेताहरुबाट प्रश्न गरिएको बताए ।
‘बैठकमा केही नेताले आजै राती १२ बजेसम्म समय भएकाले त्यस समयभित्र पनि नागरिकता विधेयक प्रमाणीकरण नभए के गर्न सकिन्छ र कसरी अघि बढ्ने भनेर सामान्य छलफल भएको छ’, ति नेताको भनाइ छ ।
सभामुख अग्नि सापकोटाले संघीय संसदबाट बहुमतले पारित भएको नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाएका थिए । राष्ट्रपतिलाई कुनैपनि विधेयक विचार गर्न १५ दिनको समय हुन्छ ।
यसअघि राष्ट्रपति भण्डारीले सुझावसहित फिर्ता पठाएको सो विधेयक संसदले कुनै संशोधन नगरी हुबहुँ पुनस् राष्ट्रपतिकोमा प्रमाणीकरण गर्न पठाएको थियो । आफुले दिएका सुझावलाई वेवास्ता गर्दै गरेकोमा राष्ट्रपति भण्डारी असन्तुष्ट छन् ।
प्रतिक्रिया