साधन स्रोतका हिसावले कर्णालीमा प्रहरी कमजोर छ : मन्त्री शाही

साधन स्रोतका हिसावले कर्णालीमा प्रहरी कमजोर छ : मन्त्री शाही

प्रहरी दिवसमा अमर प्रहरीहरुप्रति माल्यारोपण गदैै मन्त्री शाही, डिएसपी शाह लगाएत ।

दैलेख : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधन स्रोतका हिसावले प्रहरी कमजोर रहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अबसरमा  जिल्ला प्रहरी कार्यालय दैलेखद्धारा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सिमित साधन स्रोतकै भरमा प्रभावकारी काम गरेको उल्लेख गरेका छन् ।

‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी विटहरुलाई स्थायी बनाउनु आवश्यक छ, तीनलाई प्रभावकारी बनाउन साधान स्रोत सम्पन्न बनाउनु छ ।’ मन्त्री शाहीले प्रहरीसँग प्रयाप्त साधन स्रोत नै छैन्, कसरी काम गर्ने भन्दै प्रश्न समेत गरे । मन्त्री शाहीले कर्णाली प्रदेशमा प्रहरीसँग स्रोत साधन कम हुँदा काम गर्न कठिनाई भएको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले समाजमा सुरक्षा चुनौती बढिरहेको बताउँदै प्रहरी थप सचेत, सबल र सक्षम हुनुपर्नेमा जोड दिए । प्रहरीले व्यवसायीकता प्रर्दशन गर्नुपर्ने उनको भनाई छ । जनसंख्याको अनुपातमा प्रहरीको संख्या अपुग भएको बताउँदै प्रमुख जिल्ला अधिकारी हमालले प्रहरीले आफुमाथि कुनै पनि प्रश्न चिन्ह नउठ्ने गरि व्वसायिक धर्म, कर्म र मर्म अनुसार काम गर्नुपर्ने बताए । उनले आसन्न आम निर्वाचनमा जिम्मेवार, सजग र सचेत भएर काम गर्न निर्देशन दिए । प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको जोड छ । नारायण नगरपालिकाका मेयर लोमन शर्माले दैलेखमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नमा प्रहरीको भुमिका प्रभावकारी भएको बताए ।

दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले सामाजिक विकृति, विसंगति, अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले थुप्रै प्रयासहरु गरेको बताए । उनले प्रहरीले गत आर्थिक वर्षमा समुदाय प्रहरी साझेदारी अन्तरगर्त एक हजार ७२ कार्यक्रम गरिएको बताए ।

प्रहरी दिवसका अबसरमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साह पुरस्कृत भएका छन् ।प्रदेशमै उत्कृष्ठ कार्य गरेको भन्दै डिएसपी साह पुरस्कृत भएका हुन् ।कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले डिएसपी साहलाई पुरस्कार प्रदान गरेका छन् ।

दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय दैलेख मातहतका प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको छ । उक्त अबसरमा सोसेक नेपाल सम्मानित भएको छ । दैलेख जिल्लामा घटेका बाल विवाह, बहुविवाह, घरेलु हिंसा, जबरजस्ती करणी, बाल यौन दुरुपयोग, पीडित महिला, बालबालिकाका लागि तत्काल निशुल्क कानूनी परामर्श, पुर्नस्थापनामा सहयोग पु¥याएको भन्दै प्रहरीले संस्थालाई कदर पत्र सहित सम्मान गरेको हो ।

त्यसैगरी प्रहरी चौकी लालीकाँडाको भवन निर्माणका लागि पाँच रोपनी जग्गा प्रदान गर्ने महेन्द्रबहादुर डांगी र जग्गा प्राप्तीका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीलाई सम्मान गरिएको छ । यस्तै अमर प्रहरीका परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया