असल परम्परा र अभ्यासलाई जोगाउनु पर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले असल परम्परा र अभ्यासलाई जोगाउनु पर्ने बताएकी छन्। तिहार पर्वको अवसरमा शुभकामना दिँदै उनले बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपन हटाउनुपर्ने बताएकी हुन् ।
तिहार पर्वले प्रकृति‚मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने उनको भनाई छ। उनले पर्वले दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउने तर्क गरेकी छन्। तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको सन्देशमा उल्लेख छ।
उनले पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व भएको बताएकी छन्। सन्दशमा भनिएको छ, ‘तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’
तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वाससमेत गरेकी छन्।
कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको ठूला चाडहरूमध्ये एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चकको रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार‚ कुकुर तिहार‚ गाई तिहार‚ गोरु तिहार र भाइ तिहार जस्ता विशिष्ट तिहारहरू समेटिएका छन् । यस पर्वको अवसरमा धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी–भैलो खेल्ने परम्परा रहेको छ ।
प्रतिक्रिया