कांग्रेसको घोषणा : सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याड

कांग्रेसको घोषणा : सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याड

काठमाडौँ : नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने संकल्प गरेको छ । शनिबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा कांग्रेसले उक्त घोषणा गरेको हो ।

स्यानिटरी प्याडमा कर लगाएको विषयमा विवाद पछिल्ला केही वर्षयता हुँदै गएको छ । बजेटमार्फत स्यानिटरी प्याडमा कर लगाउने घोषणा हुँदा काठमाडौंका माइतीघरमा ‘रातो कर माफ गर’ भन्दै विरोध भएको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत तयारी स्यानिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ ।

सरकारले दिएको छुटपछि पनि १।५ प्रतिशत भन्सार महसुल तिरेर यस्ता प्याड भित्रिएका छन् । तर पनि आयातित प्याडको मूल्य भने घट्नुको साटो बढेको पछिल्लो रिपोर्ट छ । यस्तो अवस्थामा सरकारको नेतृत्व गरिरहेको कांग्रेसले स्यानिटरी प्याड आवश्यक पर्ने सबै महिलालाई निःशुल्क उपलब्ध गराउने भनेको छ । ‘सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने छ,’ कांग्रेसको घोषणापत्रमा लेखिएको छ ।

कांग्रेसले घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने लक्ष्य लिएको छ । सबैलाई स्वास्थ्य बीमा र सबल स्वास्थ्य प्रणाली स्थापना गर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ ।

३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार, ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता, बीमा रकमको दायरा बढाई १० लाख पुर्याइने, ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड अनुरूप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ-नगरपालिकामा विशेषज्ञ चिकित्सक सहितको प्राथमिक अस्पताल, सबै उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवाहरू सहितको अस्पताल संचालन गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया