मतदाताका वारेसप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

मतदाताका वारेसप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिबिहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भने अनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताए ।

गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानको सन्दर्भमा आफू अशक्त भएको बहाना बनाइ पक्षधर व्यक्तिलाई मतदान गर्न दिन गम्भीर प्रकृतिको कसुर भएकाले त्यसो नगर्न पनि सचेत गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवम् अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा लैङ्गिक र अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरी उदाहरण प्रस्तुत गर्न आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता कायम गर्नेगरी मतदान केन्द्र निर्माण गर्न आग्रह गरे ।

प्रतिक्रिया