चार वर्ष अघि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजियो : लामिछाने

चार वर्ष अघि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजियो : लामिछाने

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले ४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजिएको दाबी गरेका छन् ।

हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको थियो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ । तर लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरी पर्नु ठूलो विषय नरहेको र पत्र प्राप्त गरेपछि यसको जवाफ दिने बताएका छन् ।

उहाँले भन्नुभएको छ, ‘४ वर्ष अगाडि नै सुल्झिएको विषय उठाएर चुनावको मुखमा फण्डा गरिएको छ तर विचलित छैन ।’ लामिछानेले सन् २०१८ मा नै अमेरिकाको पासपोर्ट छाडेर सबै प्रकृया मिलाएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा उहाँले सोध्नुभएको छ, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौंडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भइ सेटल भसकेपछि फेरि कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?

उजुरीमा लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको दाबी गरिएको छ । साथै खारेज भइसकेको पुरानो नागरिकता पेस गरेर मनोनयन दर्ता गराएको उजुरी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया