ओलीलाई देउवाको फोन, मिलेर सरकार बनाऔं
![ओलीलाई देउवाको फोन, मिलेर सरकार बनाऔं](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_03sq84gAjx_skdpzegborolwhmukoscfwul6ntcai833mzzordhnw15o2ziweijbxpxq27i.jpg)
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् ।
देउवाले ओलीलाई कांग्रेस-एमाले मिलेर सरकार बनाउन प्रस्तावसमेत गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएसँगै देउवाले ओलीसँग फोन संवाद गरेका हुन् ।
सत्ता गठबन्धनसँग कुरा नमिलेपछि माओवादी अध्यक्ष दाहाल सरकार निर्माणका लागि छलफल गर्न भन्दै ओलीनिवास बालुवाटार पुगेका थिए । राष्ट्रपतिले सरकार बनाउन दिएको समयसीमा आज सकिने भएको हुँदा दलहरु सहमतिको प्रयासमा जुटेका छन् । शक्ति बाँडफाँडको विषयमा सत्तारुढ दलहरु निर्णायक छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनभित्र नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।
राष्ट्रपति भण्डारीले बहुमतसहितको सरकारको नेतृत्वमा दाबी गर्न दिएको समय सीमा आइतबार साँझ ५ बजे सकिँदै छ । गठबन्धनका कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि को पहिले प्रधानमन्त्री हुने भन्नेमा दुवै दल निर्णयमा पुग्न नसकेपछि दाहाल-ओली भेट भएको हो । यही भेटकै बीचमा देउवाले कांग्रेस-एमालेको सरकार बनाउन ओलीसँग फोन वार्ता गरेका हुन् ।
प्रतिक्रिया