‘भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ’ 

‘भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ’ 

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।

‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने । जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरूले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरूपका काम गर्ने र सोहीअनुसारको भूमिका खोलिदिन विपक्षी दलसँग आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरूलाई आग्रह गरे । भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमितता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।

सो क्रममा उनले आफ्नो दलले जनअपेक्षा अनुरूप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई संरक्षण पनि नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया