प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिने
![प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिने](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda_NK4YOHWfRD_wdjri9af7u6b7fy9dlcsehx1kzaurt6jbuzvvmsru8cknplnzatu4nplx2t3.webp)
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।
आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए। ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले १५ दिनमै विश्वासको मत लिन लागेका हुन्।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।
प्रतिक्रिया