माओवादीको भर्चुअल केन्द्रीय समिति बैठक
![माओवादीको भर्चुअल केन्द्रीय समिति बैठक](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda_bRh6xM07wi_iheggemttvxaiobb1fvc9qwx9bzwyksblhp3o3fyujfsy1h4zfobfuatb8tw.jpg)
काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ । आज (बिहीबार) साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । ‘५ बजेबाट भर्चुअल माध्यमबाट बैठक बस्नेछ’, ढकालले भने, ‘अध्यक्षले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।’
यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने उनले बताए ।
माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् । यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाएको हो।-नेपालखबर
प्रतिक्रिया