यस कारण पछि हटे शिक्षा मन्त्री पौडेल

यस कारण पछि हटे शिक्षा मन्त्री पौडेल

३ मंसिर । अन्ततः शिक्षा मन्त्री धनीराम पौडेल स्वास्थ्यसम्बन्धी अध्ययन हुने संस्थाहरुलाई सम्बन्धन दिने निर्णयबाट पछि हटेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का निमित्त सदस्य–सचिव रमेशकुमार बखतीलगायत सिंगो बोर्डलाई सहमत गराएर शिक्षा मन्त्री पौडेलले केही संस्थाहरुलाई सम्बन्धन दिने तयारी थालेका थिए । तर, सिटिइभिटीका कर्मचारीहरुको तीव्र विरोधपछि उनी निर्णयबाट पछि हट्न बाध्य भएका हुन् ।

शिक्षा मन्त्री पौडेलले पूर्वमन्त्री दिनानाथ शर्माको पालामा बनेको मापदण्डलाई मिचेर केही नयाँ संस्थाहरुलाई सम्बन्धन दिन लागेका थिए । जसमा हेल्थ असिस्टेन्ट, रेडियोलोजी, ल्यावसमेत गरी १८ वटा संस्था र ४० वटाजति कार्यक्रम स्वीकृत गर्ने अन्तिम तयारीमा मन्त्री पौडेल पुगेका थिए । तर, कर्मचारीहरुले पटकपटक दिइएका संस्था सम्बन्धनले सिंगो परिषद्को अस्तित्व नै धरापमा परेको जनाउँदै विरोध गरेका थिए । शैक्षिक शत्र सुरु भइसकेपछि पटकपटक पुनः परीक्षाको मिति सारेर परिषद् कार्यालयमा भएको निर्देशक बैठकमा कुनै जानकारी नदिई संस्था सम्बन्धनको प्रक्रिया अगाडि बढाइएको थियो ।

संस्था सम्बन्धनबाहेक कर्मचारीहरुको हक, हितमा कुनै काम नभएकोमा पनि कर्मचारीहरु असन्तुष्ट बन्दै आएका छन् । हुन पनि, सिटिइभिटीमा २०५२ यता एउटै पनि दरबन्दी थपिएको छैन । त्यतिबेलाकै कर्मचारीबाट काम चलाउनु परिरहेको बताइन्छ । ५ वर्षअघि २ सय ८ जना नयाँ दरबन्दी थप गर्न माग गर्दा परिषद्ले कुनै वास्ता नगर्दा फाइल अहिलेसम्म अर्थ मन्त्रालयमा थन्किएर बसेको जनाइएको छ । कर्मचारीहरुले नयाँ दरबन्दी नथपी संस्था सम्बन्धन दिन नहुने कुरा व्यापक रुपमा उठाएपछि आफू निकटका संस्थाहरुलाई सम्बन्धन दिने प्रयत्नमा अघि बढेका शिक्षा मन्त्री पौडेल पछि हट्न पुगेको जनाइन्छ ।

प्रतिक्रिया