राष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने

राष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने

काठमाडौँ :  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर धकेलिएको स्रोतले जनाएको छ ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको भारतीय दूतावास स्रोतले जनाएको छ । प्रचण्डसँग क्वात्राले सोमबार भेटवार्ता गरेका थिए ।

स्रोतले भन्यो, ‘विदेश सचिवले भारत भ्रमणको विषयमा चर्चा गर्नुभएको छ, निम्तो दिनुभएको छ । तर अहिले नेपालेका राजनीतिक अवस्था ठिक नभएको कारण मिति तय भएको छैन ।’

स्रोतका अनुसार अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ । आगामी २५ गते राष्ट्रपतिको चुनाव हुँदै छ त्यसअघि फागुन १३ मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको उम्मेदवार को बन्ने भनेर राजनीति गर्माएको छ । कतिपयले राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का समेत गर्दै आएका छन् ।प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए । त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताएका थिए ।

प्रतिक्रिया