उपराष्ट्रपति पदमा चार जना उम्मेदवारी

उपराष्ट्रपति पदमा चार जना उम्मेदवारी

चैत ३ गते हुने उपराष्ट्रपति पदमा चार जना उम्मेदवारी दर्ता गराएका छन् । एमाले उपाध्याक्षा अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी(जसपा) का संसदीय दलको नेता रामसहाय प्रसाद यादव, साेही पार्टीकी प्रमिलाकुमारी यादव र जनमत पार्टीबाट ममता झालेले उम्मेदवारी दर्ता गराएका छ्न् ।

चारै जनाले शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाबाट रामसहाय प्रसाद बाहेक प्रमिला यादव समेतकाे उम्मेदवारी परेकाे हाे ।

शाक्यको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ रहेका छन् । त्यस्तै समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल,भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।

रामसहाय प्रसाद यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

त्यसैगरी प्रमिलाकुमारी यादवको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेकी छिन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनता समाजवादी पार्टीबाट २ जना रामसहायसँगै जसपाबाट प्रमिला यादव र जनमत पार्टीबाट ममता झाले समेत गठबन्धनबाट तीनकाे उम्मेदवारी परेकाे छ ।

निर्वाचन आयोगले राष्ट्रपति पुरूषबाट निर्वाचित भएकाे कारण उपराष्ट्रपति पदमा महिलाबाट मात्र उम्मेदवारी गराउनुपर्ने भनिएकाे, सहमति जुट्न बाँकी रहेकाेले सत्ता गठबन्धनबाट रामसहाय प्रसाद यादव बाहेक २ जना महिलाको उम्मेदवारी दर्ता भएकाे हाे ।

निर्वाचन आयोगले शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको थियाे । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया