बैठक निष्कर्षविहीन, भाेलि फेरि बस्ने

बैठक निष्कर्षविहीन, भाेलि फेरि बस्ने

काठमाडौँ — उपराष्ट्रपति निर्वाचनबारे समझदारी कायम गर्न भन्दै बसेको १० दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठक भोलि बस्ने गरी टुंगिएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयाे ।

‘विशेषत: उपराष्ट्रपति निर्वाचनमा १० दलबीच समझदारी कायम गर्ने विषयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा धारणा बनाइने छ,’ बैठकपछि नेता बस्नेतले भन्नुभयाे ‘छुट्टाछुट्टै छलफल गरेर आवश्यकताअनुसार समूह-समूहमा छलफल गर्ने भन्ने भएको छ ।’

केही दिनपछि सुरु हुने संसद् बैठकबारे पनि सामान्य छलफल भएको उहाँले जानकारी दिनुभयाे । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाह लगायत हुनुहुन्थ्याे ।

चैत ३ गते शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धनबाट ३ र एमाले तर्फबाट १ उम्मेदवार छन् । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दल जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमतबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ।

प्रतिक्रिया