बाँदरले दिएकाे सास्ती ; प्रशासनमा निवेदनसम्म
बाँदरको उपद्रोले अब मान्छे मात्र होइन, घरपालुवा पशुले समेत दु:ख पाउन थालेका छन् । बाँदरले घरपालुवा पशुमाथि गरेको अत्याचारको उजुरी भोजपुरबाट अहिले सिंहदरबार आइपुगेको छ ।
नेकपा माओवादी केन्द्र भोजपुरले जिल्ला प्रशासन कार्यालयमार्फत् एक महिनाअघि गरेको उजुरीमा बाँदरले घरको खानेकुरा र अन्नबाली चोरेको मात्र हैन, घरमा पालेका पशुलाई करणी गरेको ब्यहोरा पनि उल्लेख छ । बाँदरको उपद्रो कुन हदसम्म बढेको छ भन्ने पछिल्लो उजुरी हो बाँदरले गर्न थालेको चौपाया करणी । मान्छेमाथि त बाँदरले आतङ्कको कहर नै सिर्जना गरेको छ ।
रुनु कि हाँस्नु !
कसौडीमा पाकेको भात खानु अघि हात धुन बाहिर निस्केका बेला बैतडीको दशरथचन्द नगरपालिका–८ की शान्ति टमाटाको कसौँडी बाँदरले बतासको चालमा खोसेर लाग्यो । झ्यालबाट छिरेर भातको कसौँडी बोकेर दौडेको बाँदरलाई लखेट्न खोज्दा उल्टै शान्तिमाथि झम्टियो । शान्ति डरले घरभित्र पसेपछि बाँदर कसौडी बोकेर रुख चढ्यो । शान्ति भन्नुहुन्छ “आफूले खान ठिक्क पारेको भात बाँदरले खाएको टुलुटुलु हेरेर बस्नुपर्यो” ।
केही वर्षअघि महोत्तरीमा बाँदरले बालबालिकालाई कुटपिट गर्नुको साथै केहीलाई टोकेको थियो ।
स्याङ्जाको पुतली बजारमा बाँदर धपाउँदा हैरान भएकी एक महिलाले धेरैपछि बाँदर पुरुषसँग बढी डराउने कुरा बुझिन् । त्यसपछि गुलेली बोकेर बाँदर धपाउन जाँदा उनी दौरा–सुरुवाल र ढाकाटोपीमा ठाँटिएर जान थालिन् । केही दिन त यो उपाय काम लाग्यो, तर उनको चलाखी बाँदरले थाहा पाएपछि झनै दुःख दिएको खबर अघिल्लो वर्ष काठमाण्डौ पोष्टमा प्रकाशित भएको थियो । अथवा, आफूखसी बदमासी गर्न नपाउनासाथ बाँदरले मान्छेका नयाँ चाल र प्रयासलाई विफल पार्ने प्रयास गर्छ, त्यो पनि मान्छेकै नक्कल गरेर । हुँदा हुँदा अवस्था यस्तो आइसक्यो, नेपालका स्थानीय सरकारहरुका लागि बाँदर सबैभन्दा ठूलो समस्या र टाउको दुखाइको विषय बन्न थालेको छ । नेपालमा आज थोरै मात्र पालिकाहरु छन्, जहाँ वडा, पालिका र वार्षिक सभामा बाँदरले गर्ने उपद्रोको कुरा हुँदैन । कतिपय पालिकाहरु त बाँदरसित थाकेका देखिन्छन् ।
बल्ल बल्ल समात्यो छाड्ने ठाउँ छैन !
बाँदरको आतङ्क खप्न नसकेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७५ सालमा बाँदर समातेर अन्यत्र लैजाने योजना मात्र ल्याएन, १० लाख रुपैयाँ बजेट पनि छुट्यायो । योजना कार्यान्वयन गर्न नगरपालिकाले भारतीय सिकारी बोलायो र प्रति बाँदर २ हजार पाँच सय दिएर बाँदर समात्न लगायो । नब्बेवटा बाँदर समातिए पनि । तर समातिएका बाँदर छाड्न कुनै पनि राष्ट्रिय निकुञ्जले अनुमति दिएनन् ।
टाढाको जङ्गलमा लगेर छाड्न त्यस गाउँ वरपरका मानिसले दिएनन् । बन्ध्याकरण गर्न कानुनले दिएन । समातिएका बाँदरलाई खुवाइ पियाइ गर्दा उल्टै खर्च भयो । त्यसमाथि समातिएका बाँदर मर्न पनि थाले । बाँदर मरेको कुरा सुनेपछि पशु अधिकारवादीहरु सक्रिय भए । नगरका तत्कालीन मेयर दीपनारायण रिजाल भन्नुहुन्छ “अन्ततः समातेका बाँदर स्थानीय जङ्गलमै छाड्नु पर्यो” ।
मान्छेको विवशतामा बाँदरको रजगज
स्याङ्जाको भीरकोट नगरपालिकाले २०७७ सालमा बाँदर नियन्त्रण गर्न खोर बनाउने योजना अघि सार्यो । बजेट पनि छुट्याइयो । बाँदरलाई पासोमा पारेर खोरमा थुन्ने र खोरमै थुनेर पाल्ने योजना सुरु पनि भयो । तर त्यसले पनि काम गरेन, किनकि कानुनत: बाँदरलाई थुन्न पाइँदैन । बाँदरलाई थुन्न खोर बनाउने योजना पर्वतको महाशिला गाउँपालिकाले पनि अघि सारेको थियो । तर यस्तो योजनाले बाँदरको सङ्ख्या नियन्त्रण नहुने र थुनेर पाल्न पनि कानुन अड्चन हुने थाहा पाएपछि योजना नै रोकिएको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसाल ।
न काउसो काम लाग्यो न हेरालुले रोक्न सके !
मकवानपुरको थाहा नगरपालिकाले खेतबारीका डिलमा बाँदरको काउसो अर्थात् छोएपछि बाँदरलाई चिलाउने झार लगाउन थालेको छ । नगरपालिकाका मेयर विष्णुबहादुर विष्ट बाँदर नियन्त्रणका अरु उपायले काम गर्न छोडेपछि अहिले चिलाउने झार लगाउन थालेको बताउनुहुन्छ । तर, सुरुमा झारले छोएपछि भाग्ने गरेको बँदर हिजोआज काउसोबाट बच्न रुखबाट हामफाल्दै बालीसम्म पुग्न थालेको छ ।
पर्वतको फलेवास नगरपालिकाले अहिले बाँदरले नखाने बाली रोप्ने योजना लागू गरेको छ । योजना अन्तर्गत किसानलाई काँडा भएका, अमिलो जातका कागती, ज्यामिर जस्ता बाँदरले नखाने फलफूलका बिरुवा वितरण गरिएको छ । तर, बढ्न नपाउँदै धेरै बिरुवा बाँदरले उखेलेर फ्याकिदियो । जसोतसो बचेका बिरुवामा फल लाग्न थालेपछि बाँदरले फल पनि टिपेर फ्याँकिदिने गरेको छ ।
दोलखाको कालीञ्चोक गाउँपालिकाले २०७८ सालको मकै पाक्ने बेलामा बाँदर खेदाउन दुई जना हेरालु नियुक्त गर्यो । तर उनीहरुले मकैबाली जोगाउन सकेनन् । किनकि हेरालु नभएका ठाउँबाट पसेर बाँदरले मकैबारीमा मोज गरे ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पनि बाँदरले यस्तै चलाखी गरेर बाली सोत्तर पारेको छ । पालिकाले २०७८ सालदेखि अन्नबाली पाक्ने याममा तीनजना हेरालु राख्ने गरेको छ । तर, गौडामा बसेका हेरालुलाई छलेर बाँदर गाउँका फराकिलो ठाउँहरुबाट पसेर बारीको अन्न खाइ भ्याउँछन् ।
मङ्की गनमाथि नै मङ्कीको मन्थन
दुई वर्षअघि देशव्यापी रुपमा मङ्की गन अर्थात् बाँदर धपाउने बन्दुकको चर्चा चल्यो । स्याङ्जा भीरकोटका भविश्वर कोइरालाले २०७६ सालमा आविष्कार गरेको बाँदर भगाउने बन्दुक पड्कन थालेपछि त्यहाँका बाँदर त्राहिमाम भए । बाँदर पीडित पालिकामा बन्दुकको माग ह्वात्तै बढ्यो । माग पूरा गर्न राष्ट्रिय आविष्कार केन्द्रले बाँदर भगाउने बन्दुक बनायो । विभिन्न पालिकाहरुले आफ्नो बजेटबाट बन्दुक किनेर किसानलाई बाँडे ।
बन्दुक पड्कँदा बाँदर भागेपछि बाँदर पीडित किसानको लागि यो बाली जोगाउने वरदान साबित भयो । तर बन्दुक पड्किँदा भागेका बाँदरले केही समयमै त्यो बन्दुकबाट कसैलाई पनि गोली नलागेको थाहा पाए । अनि त बाँदरसित कस्ले सक्ने ? बन्दुक पड्किँदा बाँदर एकछिन लुके, त्यसपछि पहिलेभन्दा चर्को उपद्रो मच्चाउन थाले । त्यो बेला स्याङ्जाको पुतलीबजार नगरपालिकाले १ सय ५० र भीरकोट नगरपालिकाले ४० वटा बन्दुक बाँडेका थिए । तर बन्दुकका गोली नसकिँदै बाँदर भाग्न छाडे । भीरकोट जस्तै काम नलागेर यस्ता बन्दुक नेपालका धेरै पालिकाहरुमा थन्किए भने अहिले त त्यस्ता बन्दुकको किनबेच नै रोकिएको छ ।
बाँदरका नाममा खर्चैखर्च, तर उपलब्धि शून्य
पछिल्लो ५–६ वर्षमा बाँदर आतङ्क भएका सबैजसो पालिकाले बाँदर नियन्त्रणको प्रयास गरेका छन् । किसानको समस्या समाधान गर्न पालिकाहरुले अनेक प्रयत्न, पहल र मन फुकाएर खर्च गरे पनि उपलब्धि शून्य बराबर छ । बाँदरमाथि भएको खर्चको विवरण पालिकाले आ-आफैँ राखे पनि बाँदर नियन्त्रणका लागि देशव्यापी रुपमा भएको खर्चको एकीकृत विवरण कुनै मन्त्रालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय तथा महालेखा परीक्षकको कार्यालय कतै पनि उपलब्ध छैन । तर, बाँदरका नाममा पालिकाहरुले गर्ने खर्च करोडौँ करोड छ र यो बर्सेनि बढ्दैछ भन्ने कुरा जो कसैले पनि सहजै अनुमान गर्न सक्छ ।
बाँदरको जिद्दी किन यतिविधि !
मान्छे जस्तै, बाँदर पनि उत्सुक, चञ्चल र नयाँ नयाँ प्रयोग गर्न उत्सुक हुन्छ । रातो बाँदरमा लामो समय अनुसन्धान गरेर विद्यावारिधि गरेकी डा. सविना कोइरालाका अनुसार हरेक कुरा परीक्षण गर्ने बाँदरको बानी हुन्छ । कोइराला भन्नुहुन्छ ‘बाँदरले कुनै कुरा खानयोग्य छ कि छैन भनेर पहिले त्यो वस्तुलाई भाँच्ने र जिब्रोले चाट्छ’ ।
मानिसलाई जस्तै बाँदरलाई अरुको नक्कल गर्दा आनन्द लाग्छ र अरुलाई क्षमता देखाउँदा आफू ठूलो भएको आभाष हुन्छ । कोइराला भन्नुहुन्छ “रुखमा चढेर हाँगा हल्लाउनु, एक रुखबाट अर्कोमा हाम फाल्नु, एउटा हात वा खुट्टा तथा पुच्छरले रुखमा झुण्डिनु बाँदरले देखाउने शक्ति प्रदर्शन हो” र बाँदरले गर्ने यो चकचक उसको दैनिकी पनि हो । बाँदरमा रहेको अर्को क्षमता हो कुनै कुरा बुझिसकेपछि आफूलाई त्यसै अनुसार परिवर्तन गर्दै जाने । “त्यसैले, बाँदरलाई तर्साएर भगाउन कठिन भएको हो” कोइराला भन्नुहुन्छ ।
त्यसै त मान्छे जस्तै चलाख र अनेक क्षमता भएको बाँदर ! त्यसमाथि नेपालको कानुनले सोझा सिधा र जङ्गलमा रमाउने जनावरहरुले पाउने संरक्षण र सुरक्षा पनि बाँदरले पाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार, मानिसले घरपालुवा बाहेकका पशुपक्षीलाई मार्न मात्र हैन, समात्न, पाल्न र बन्ध्याकरण गर्न समेत पाउँदैन ।
घरपालुवा नभएका कारण बाँदरले यो कानुनको संरक्षण पाएको छ । र, बाँदरले गर्ने उपद्रो दिन दुई गुणा र रात चार गुणाले बढेको देख्दा धेरैलाई त लाग्न थालेको छ – नेपालको कानुनबाट आफू सुरक्षित र संरक्षित छु भन्ने कुरा सम्भवतः बाँदरले पनि बुझिसकेको छ । कानुनले सुरक्षा र संरक्षण गरेको कुरा थाहा नपाएको भए बाँदरले पाकेको भातको कसौँडी खोस्ने र गोठ र खोरमा पसेर चौपाया करणी गर्ने आँट गर्थ्याे होला त !
(साभार : उज्यालाे अनलाइन)
प्रतिक्रिया