२८ रोपनीमा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट
रोल्पा – प्रहरीले रोल्पामा ठूलो मात्रामा अवैध रूपमा खेती गरिएको अफिम खेती नष्ट गरेको छ । पश्चिमी रोल्पाका भित्री गाउँमा खेती गरिरहेको सुराक पाएपछि पुगेको प्रहरी टोलीले दुई दिन लगाएर विभिन्न स्थानबाट २८ रोपनी क्षेत्रफलमा लगाइएको करिब २५ हजार अफिमको बोट नष्ट गरेको हो ।
प्रहरीका अनुसार पश्चिम उत्तरमा रहेको परिर्वतन गाउँपालिकाको वडा नम्बर ४ का खोलागाउँ, तारल, बसुन्धरा, जैरेनी, तातोपानी र वडा नं ५ को बजेनी भन्ने गाउँमा लगाइएको अफिम नष्ट गरिएको हो । दुई वडाका करिब २८ रोपनीमा लगाइएका करिब २५ हजार ५ सय वटा अवैध अफिमका बोट नष्ट गर्न ठूलो संख्यामा प्रहरी टोली पुगेको थियो । चैत २७ मा अफिम उत्पादन क्षेत्रमा पुगेको प्रहरीले दुई दिन लगाएर सबै अफिम नष्ट गरेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो ।
प्रहरीले रुकुमसँग सीमा जोडिएको परिवर्तन गाउँपालिकाका गाउँहरुमा अफिम खेती भेटिएको जनाएको छ । ती स्थानमा अफिमको खेती अत्यधिक गरिएको फेला पारेपछि प्रहरी थप सक्रिय भएको हो । प्रहरीले भिन्नाभिन्नै वडाबाट ८ र २० रोपनी क्षेत्रफलमा अफिमको खेती लगाइएको फेला पारेको हो । अघिल्लो वर्ष पनि यही क्षेत्रमा प्रहरीले ठूलो मात्रामा अफिम नष्ट गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले स्थानीय तहका प्रमुखसँग लागूपदार्थको उत्पादन, ओसारपोसार र बेचबिखन रोक्न समन्वय गरिएको बताउनुभयो । ‘स्थानीय तहका प्रमुखसँगको संयुक्त बैठकमा भेला भएका पदाधिकारीहरुसँग यसबारेमा छलफल भएको छ । जहाँ अफिम लगायत अवैध लागूपदार्थको उत्पादन भएको छ, प्रहरी वा मलाई खबर गर्नुहोला भनेका छौं,’ प्रजिअ घिमिरेले भन्नुभयो ।
रोल्पाको मध्यपूर्व र उत्तरी क्षेत्रमा दुवै रुकुम र बाग्लुङसँग सीमा जोडिएका क्षेत्रमा अवैध लागूपदार्थको उत्पादन हुने गरेको पाइएपछि स्थानीय प्रशासनले छिमेकी जिल्लासँगको सुरक्षा बैठकमा एजेन्डा उठाउने तयारी पनि गरेको छ । रोल्पामा चरेस उत्पादन पनि अत्यधिक हुने गरेको प्रहरी प्रतिवेदन छ । बर्सेनि चरेस र अफिम ओसारपसारमा संलग्न थुप्रै महिला र पुरुषलाई प्रहरीले मुद्दा लगाउने गरेको छ ।
हरेक वर्ष प्रहरीले लागू पदार्थ नष्ट गर्ने अभियान चलाइरहे पनि खेती गर्नेको संख्या भने घटेको छैन । प्रहरीले यस्तो संख्या झन् बढेको पाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार अवैध लागूपदार्थको जिल्लाभर खोजी जारी राखिएको छ । उनका अनुसार रोल्पामा मात्रै तीन वर्षको अवधिमा ४ सय ८१ रोपनी क्षेत्रफलमा अफिम लगाइएको पाइएको र सबै नष्ट गरिसकिएको छ । तर प्रहरीले अफिम खेती गरेको आरोपमा कसैलाई नियन्त्रणमा लिएको छैन । सबैले पाखोबारीमा खेती गरेको पाइएकाले खोजी भइरहेको जनाएको छ ।
प्रतिक्रिया