वर्षमानकी आमालाई गोली हानेका प्रहरी हवल्दार पक्राउ

वर्षमानकी आमालाई गोली हानेका प्रहरी हवल्दार पक्राउ

काठमाडौं – नयाँ वर्षको पारिवारिक जमघटमा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुनलाई गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाशलाई प्रहरी प्रधान कार्यालय नक्सालमा राखी अनुसन्धान गरिरहेको बताइएको छ ।

कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका उनी ड्यूटी सकेर त्यहाँ पुगेका थिए । साथमा पेस्तोल लिएरै गएका थिए । ‘विवादबीच आफूसँग भएको पेस्तोल निकालेर एक्कासी गोली चलाएको खुलेको छ’, प्रहरी प्रधान कार्यालय एक अधिकृत ज्वालासन्देशलाई भन्नुभयो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार नयाँ वर्षको पारिवारिक जमघटमा रोल्पाका छिमेकी र नातामा बज्यै पर्ने तीर्थमालालाई प्रहार गरेको गोली खुट्टामा लागेको र प्रहरी हवल्दार प्रकाश त्यहाँबाट भागेका थिए ।

‘नेता पुनको भाइको साथी पनि भएकाले उहाँ प्रायः आइराख्थे’, पारिवारिक स्रोतले भन्यो, ‘शुक्रबार पनि त्यही भएर आएको अनि मन्त्री बर्षामानकी आमालाई सामान्य विवादमा गोलीले प्रहार गरेछन् ।

विशिष्ट व्यक्ति सुरक्षामा खटिने सुरक्षाकर्मीलाई जुनसुकै बेला हतियार चाहिनसक्छ भनेर आफैसंग स्थायी रुपमा दिने गरिन्छ । त्यहाँ हवल्दार मगरले मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा विवाद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताउनुभयो ।

तीर्थमाली पुनको खुट्टामा गोली लागेपछि ट्रमा सेण्टरमा उपचार भइरहेको छ । गोली लागे लगत्तै हवल्दार प्रकाश त्यहाँबाट भागेको कुरा प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो । त्यसपछि खटिएको टोलीले उनको कोठाबाट प्रकाशलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रतिक्रिया