जसले हातैले भित्तेपात्रो कोर्थे
एउटा इतिहास…
जसले हातैले भित्तेपात्रो कोर्थे
दैलेख ः तस्विरमा हेरौँ, दाँयातर्फ दैलेखको बडलम्जीस्थित ऐतिहासिक कलात्मक पञ्चदेवल । बाँयातर्फ दैलेखकै पञ्चकोशी तिर्थस्थलमध्येको श्रीस्थान मन्दिर भित्र सदिऔँदेखि बलिरहेको ज्वाला । चन्द्र र सुर्य अंकित हिमाल, अनी नेपालको झण्डा । सुन्दर अक्षरले शिरमा लेखिएको छ, ‘नेपाल भ्रमण वर्ष १९९८’ लाई सफल पारौँ । त्यसकै तलपट्टी नव वर्ष वि.स. २०५५ को सुखद् उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । झट्ट हेर्दा वर्षौ पुरानो देखिने यो पाना हातले कोरेको भित्तेपात्रो हो । जसलाई दैलेखका अमरबहादुर सुनारले कोरेका हुन् ।
यो भित्तेपात्रो वि.स.२०५५ को हो । एउटै पेजमा बनाईएको पात्रोमा नेपाली र अंग्रेजी महिना, गते र बार छुट्याईएको छ । पात्रोको पुछारमा वर्षभरीको सार्वजनिक बिदाहरु लेखिएका छन् । त्यसबेला दैलेखको तत्कालिन जिविस, प्रहरी, प्रशासन, अदालत, त्रिभुवन मावी लगाएतका सरकारी कार्यालयमा पुग्ने यो हस्तलिखित पात्रोको पुछारमा यस कार्यालयको विशेष कार्यक्रम भनेर खाली छोडिएको छ । जहाँ सरकारी कार्यालयले वर्षभरीका विशेष कार्यक्रम समावेश गर्थे । वर्ष फेरिएपछि सरकारीमात्रै होइन, कयौ व्यक्तिहरुको घरमा पनि उनै सुनारले तयार पारेको पात्रो फेरिन्थ्यो ।
झण्डै तीन दशकदेखि पत्रकारिता र मानवअधिकारको क्षेत्रमा सक्रिय रहेका सुनारले वि.स. २०४६ देखि नै हातले कारेरे पात्रो बनाउन सुरु गरेका थिए । उनले २०४६ देखि २०५६ सम्म हातले कोरेर पात्रो निर्माण गरे । बाँस काटेर बनाएको कलम मसिमा चोपेर लेखिन्थ्यो, भित्तो पात्रो बन्थ्यो । बाँसको कलम बनाएर लेख्दा अक्षर पनि राम्रो हुन्थ्यो । ‘म ०४६ मा ९ कक्षामा पढ्दै थिए, ध्रुवनारायण चौधरी कृषि विकास कार्यालयको तत्कालिन प्रमुख हुनुहुन्थ्यो, उहाँको क्वाटर र मेरो डेरासँगै थियो, उहाँले हातले ड्रोइङ गरेर बनाएको क्यालेन्डर देखेँ, त्यसपछि मैले पनि बनाउनु सुरु गरेको हुँ, मेरो अक्षर पनि उहाँले मन पराउनुभयो,’ सुनार भन्छन् ‘मेरो अक्षर आकर्षक लागेर पनि होला, नयाँ वर्ष, दशैँ जस्ता चार्डपर्वको शुभकामना लेखेर पठाउनु परे खाममा लेख्न मलाई लगाउनुहुन्थ्यो ।’
त्यसबेला भित्तेपात्रोहरु अहिलेजस्तो सहजै पाईदैनथ्यो । वन कार्यालयले वन समितिहरुलाई भित्तेपात्रो पठाउथ्यो । जिल्लाका केहि अगुवाहरु, गाउँका प्रधानपञ्चहरुसँग मात्रै पात्रो हुन्थ्यो । ‘पात्रो बनाउनलाई फागुनमै पञ्चाङ्ग पात्रो ल्याउनुपथ्र्यो, त्यसकै आधारमा हातले भित्तैपात्रो कार्थे,’ उनि सम्झन्छ् ‘अहिले सरकारले बिचबिचमा निर्णय गरेर बिदा दिन्छ, अव्यवस्थित छ, त्यतिबेला त्यसो हुँदैनथ्यो, वर्षभरीको सार्वजनिक बिदा पहिले नै तय हुन्थ्यो ।’ सुनारले बनाएको पात्रोमा शनिवार र सार्वजनिक बिदा छुट्याउन रातो मसी प्रयोग हुन्थ्यो । कोही कसैलाई आवश्यक पर्छ भनेर अंग्रेजी तारेखलाई सानो अक्षरले लेख्थे उनि । ‘मैले तयार गरेको पात्रोमा कुनै पनि त्रुटी हुन्थेन्, सरकारी तथ्यांक पनि मिल्थ्यो, शुद्धता र आधिकारिकताकै कारण सबैले मैले बनाएको भित्तेपात्रोको मन पराउँथे, अपनत्व लिन्थे,’ उनी भन्छन् । एउटै ड्रोइङसिटमा बनाएको क्यालेन्डर सबै कार्यालय र व्यक्तिहरुले वर्षभरी राख्थे ।
उनले हातले ड्रोइङ गरेर बनाएको पात्रोमा शुद्धाशुद्धिमा त्रिभुवन मावीका तत्कालिन प्रधानाध्यापक खगेन्द्र मल्लले सहयोग गर्थे । त्यो बेला जिल्लाका मुख्यमुख्य कार्यालय र केहि व्यक्तिहरुलाई पात्रो उपलब्ध गराउँथे, उनी । रेडियो नेपालको केन्द्रीय प्रशारणमा पनि पात्रो पठाउँथे । राम्रो अक्षर र भित्तेपात्रो बनाउने कलाकै कारण जिल्लाका सरकारी कार्यालयहरुले उनलाई नै सांगठनिक चार्ट बनाउने बोलाउँथे । ‘सरकारी कार्यालयको सांगठनिक संरचना लेख्नुपर्दा कार्यालयहरुले बोलाउँथे, धेरथोर पैसापनि दिन्थे, मलाई पढाईमा पनि सहयोग पुग्थ्यो,’ उनि भन्छन् ।
२०४७ मा एसएलसी दिएका सुनार केहि समय भारतमा काम गरेँ । ‘२०४७ मा एसएलसी दिएर भारत गएँ, त्यहाँ ६ महिना काम गरेर फर्किए, एसएलसी उर्तिण भएपछि रोजगारी खोजेँ तर अबसर पाइन्,’ उनले भने । त्यसैबेला सुनारले दृष्टि, बुधवार पत्रिकालाई समाचार लेख्न थाले । २०५१ को मध्यावधी सरकारपछि सुनारले राससको जिल्ला संवाददाता भएर काम गर्ने अबसर पाएँ । त्यसबेला सुनारले रासस र स्वर्गिय पत्रकार डेकेन्द्रराज थापा रेडियो नेपालमा काम गर्ने अवसर पाएका थिए । नियुक्तको हिसावले २०५२ देखि औपचारिक रुपमा पत्रकारितामा संलग्न भएको सुनारको भनाई छ । क्यालेन्डर (भित्तेपात्रो) बाटै पत्रकारितामा प्रवेश गराएको उनी बताउँछन् । राससमा आबद्ध भएको दोस्रो वर्ष देशभरकै उत्कृष्ठ संवाददाताको रुपमा पुरस्कृत भएका सुनार भन्छन्, ‘त्यो बेला अहिले जस्तो इमेल इन्टरनेट थिएन्, आवाबाट समाचार पठाउनुपथ्र्यो, मासिक तीनदेखि चार हजारसम्म तलब पाईन्थ्यो ।’
२०५३ मा उनि कान्तिपुरमा आबद्ध भए । पत्रकारितासँगै उनले ड्रोइङपनि गरिँरहे । भित्तेपात्रो बनाउन पनि छोडेनन् । दैलेख जिल्लामा व्यक्तिगत रुपमा नीजि कम्प्युटर चलाउने व्यक्ति उनै सुनार हुन् । ‘हुन त् २०५५ मा दैलेखमा एबिसी कम्प्युटर इन्स्च्युट सुरु भयो । सुनारले २०५६ मा कम्प्युटर सम्बन्धी सैद्धान्तिक ज्ञान त्यहिँबाट सिके । २०५७ मा सुनार आफैले कम्प्युटर खरिद गरेँ । कम्प्युटर चलाउन थालेपछि हातले ड्रोइङ गरेर पात्रो बनाउनै छुटेको उनी बताउँछन् । ‘अहिले मसँग रहेको नमूना पात्रो २०५५ सालको हो,’ उनले भने ‘त्यसबेला तत्कालिन सरकारले १९९८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने प्रश्ताव गरेको थियो ।’ २०५६ मा हातले कारेको भित्तेपात्रो अन्तिम बनेको उनको भनाई छ । ‘कम्प्युटर चलाउन थालेपछि सृजनशिलता हराएको महसुस हुन्छ,’ सुनार भन्छन् ।
२०२७ चैत्र २४ गते हालको नारायण नगरपालिका–११ विन्ध्यवासीनीमा जन्मिएका सुनारले पत्रकारिता विषयमा एमए गरेका छन् । कक्षा एक देखि पाँचसम्म रैनादेवी प्रावी काँडा र कक्षा ६ र ७ रैनादेवी मावी टाटामाखुमा अध्यन गरेका सुनार कक्षा ८ पढ्न २०४४ मा दैलेख सदरमुकामस्थित त्रिभुवन मावीमा भर्ना भएका थिए । २०४७ मा त्रिभुवन मावीबाटै एसएलसी दिएका उनको लामो समय पढाई नै छुट्यो । एसएलसी उर्तिण भएको १४ वर्षपछि २०६१ मा प्रविणता प्रमाणपत्र तहको अध्ययन सुरु गरे । ०६३ मा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरेका सुनारले २०६७ मा नारायण क्याम्पसबाट स्नातक तहका पढाई पुरा गरे । उनले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता विषयमा एमए गरेका छन् ।
औपचारिक रुपमा राससबाट पत्रकारिता सुरु गरेका सुनार २०५३ मा कान्तिपुरमा आबद्ध भएका थिए । उनले ०५८ सम्म कान्तिपुरमा काम गरे । त्यसपछि उनि स्पेस टाइम्समा काम गर्न थाले । २०६१ मा स्पेस टाइम्स पनि बन्द भयो । त्यसयता अन्नपूर्ण पोस्ट्, राजधानी लगाएतका संचारगृहमा काम गरेका अनुभव उनिसँग छ । दैलेखका पहिलो रक्तदाता समेत रहेका सुनार हाल इन्सेक र उज्यालो रेडियोमा आबद्ध छन् । उनि मानवअधिकारकर्मीको रुपमा परिचित छन् ।
प्रतिक्रिया