सार्वजनिक कार्यक्रम अपाङ्गता भएकाहरुका लागि अवरोध

सार्वजनिक कार्यक्रम अपाङ्गता भएकाहरुका लागि अवरोध

काठमाण्डाैं – वैशाख १ गते राष्ट्रिय रुपमा विशेष योगदान गर्नुभएका व्यक्तिहरुलाई मानपदवी, पदक वितरण तथा सुशोभन समारोहमा उक्लिन नसकेको शारीरिक अपाङ्गता समस्या भएका व्यक्तिलाई राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट तल ओर्लिएर प्रदान गर्नुभएको भनेर मूलधारको मिडियामा समाचारले स्थान दिए ।

मिडियामा समाचारको प्रस्तूतीलाई लिएर अपाङ्गता समस्या भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा क्रियाशीलहरुले दिएको प्रतिक्रियाले राष्ट्रपति पौडेल मञ्चबाट तल ओर्लिएर पदक दिएको भनेर खुृशी मान्नपर्ने नभई अपाङ्गहरुले मञ्चमा जानसक्ने किन नबनाएको पेचिलो पश्न उठाएका छन् ।

वौद्धिक अपाङ्ग अभिभावक महासंघका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्वमहासचिव राजु बस्नेतले मिडियाहरु नै अपाङ्गता र अपाङ्गता भएका व्यक्तिको बिषयमा असाध्यै पुरातन सोच लिएर बाँचिरहेका रहेछन् भन्दै खरो टिप्पणी सहित फेसबुक स्टाटस लेख्नुभएको छ ।

नेपालले अनुमोदन गरेको अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी २००६, नेपालको संविधान, अपाङ्गता अधिकार सम्बन्धी नेपालको कानुन र सार्वजनिक संरचनालाई सबैका लागि पहुँचयुक्त बनाउने सम्बन्धी निर्देशिका र मापदण्डले कुनै पनि सार्वजनिक संरचनाहरू बनाउँदा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउनुपर्छ ध्यान नपुगेको उल्लेख गर्दै उहाँले आयोजकको आलोचना गर्नुभएको छ ।

बस्नेतले स्टाटसमा यस्ता सार्वजनिक स्थलहरू निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिका लागि कुनैपनि अवरोध हुनुहुँदैन र उनीहरूले हरेक सेवा सुविधा लिने र गतिविधिहरू गर्ने कुराको उपयोग बिना भेदभाव समान हैसियतमा गर्न पाएको सुनिश्चित गराउने दायित्व राज्यको रहेको औल्याउनुभएको छ ।

पदक वितरण समारोहमा बन्ने मञ्च पनि अपाङ्गता भएका व्यक्ति लगायत ज्येष्ठ नागरिकहरूका लागि पहुँचयुक्त बनाउनुपर्ने अनिवार्य शर्त रहेको र अपाङ्गता भएका व्यक्ति पनि आमन्त्रित छन् भन्ने जान्दा जान्दै सुशोभन कार्यक्रमस्थल पहुँचयुक्त नबनाइनु अपाङ्गता भएकाहरुप्रति भेदभाव वा अपमान जनिएको उहाँको टिप्पणी छ ।

राष्ट्रपति कार्यालयले आयोजना गरेको सुशोभन कार्यक्रम नै अपाङ्गता भएकाहरुहरुका लागि पहुँचयुक्त बनाइँदैन भने अरु ससाना बजेट श्रोतका कार्यक्रम पहुँच हुनसक्छन् ? राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कार्यक्रम संयोजक पार्वती शर्माको प्रश्न छ ।
यो घटनाले ‘अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९’ बारे धेरैले थाहा पाएका छन्, अबदेखि आयोजना गरिने कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिको लागि सहज बनाउनपर्नेमा ध्यानाकर्षण गराएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको भनाई छ ।

‘सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सडक, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, खेल मैदान, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजनिक स्थलहरुमा अपाङ्गता भएका व्यक्तिको लागि सहजता गराउन सरकारले नीति ल्याएको ११ वर्ष भयो तर अझै बेवास्ता हुनु दुखद कुरा हो’ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल दैलेख शाखाका जिल्ला महासचिव जीतबहादुर जीसीको टिप्पणी छ ।

अपाङ्गता भएका व्यक्तिको लागि सहज बनाउन ध्यान पुग्न नसकेको समारोहमा एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जनालाई सुकीर्तिमय राष्ट्रदीप, १६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, ३१६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री दिइएको थियो ।

‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध ऐन, २०७४’ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी २०७७ भदौ १ गते लागू भएको ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७’ समेतलाई अंगिकार गर्दै ल्याइएको ‘अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९’ त्यो वर्ष फागुन २ गते नेपाल सरकारले पारित गरेदेखि लागू भएको छ ।

अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँच योग्य बनाउन, टेलिभिजन, रेडियो जस्ता सार्वजनिक सञ्चार तथा सूचना सेवामा समेत अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्न, अपाङ्गता भएका व्यक्तिलाई हुने अवरोध हटाई पहुँच वृद्धि गर्न निर्माण गरिने सेवा र सुविधामा एकरुपता कायम गर्न आवश्यक मापदण्ड तोकिएको छ ।

मापदण्ड अनुसार अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँच योग्य बनाउन ह्वीचियर प्रयोगकर्ता, वैशाखीको सहारामा हिंड्नेहरुका लागि आवागमन सहज बनाउने, बहिराहरुका लागि साँकेतिक भाषामा व्याख्या गर्ने र दृष्टिबिहीनहरुका लागि उचित तरिकाले श्रवणको प्रवन्ध गराउने व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया