अंग्रेजी माध्यमलाई जोड दिँदै सल्यानका सामुदायिक विद्यालय

अंग्रेजी माध्यमलाई जोड दिँदै सल्यानका सामुदायिक विद्यालय

सल्यान-  सल्यानका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक र शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेका छन् ।

समयमै भर्ना गराउन र अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै घरदैलो अभियान सञ्चालन गर्दै आइरहेको श्री त्रिभुवन जनता माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका ५ च्युराका प्रधानाध्यापक गुमान सिंह विष्टले बताउनुभयो ।

‘हामी विद्यालयको विद्यार्थीको सङ्ख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौँ’, उहाँले भन्नु भयो ‘निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौँ ।’ कुनै पनि बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर नहोस् र उसले गुणस्तरीय शिक्षा पाओस् भन्ने चाहाना आफ्नो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली वि।कले बताउनुभयो ।

त्यसै गरी जिल्लाका प्राय सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यम अपनाएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । अभिभावक तथा विद्यार्थीहरूमा बोर्डिङ स्कुलको आकर्षण रहेका बेला सामुदायिक विद्यालयहरूले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने सुरु गरेर विद्यार्थी आकर्षित गर्न थालेका छन् ।

सामुदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलको जस्तै गुणस्तरीय शिक्षा दिनका लागि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दै आइरहेको शारदा नगरपालिका १ शितलपार्टीमा रहेको शिव जन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामीले विद्यालयको गुणस्तर वृद्धि गर्न शिशु देखि कक्षा ५ सम्म अनिवार्य अंग्रेजी र ६ देखि १० सम्म नेपाली अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गराई रहेका छौँ ।’ अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सख्ंया बढेको उहाँको भनाई छ ।

यस्तै जनकल्याण नमुना माध्यमिक विद्यालय बागचौर नगरपालिका २ थारमारेले पनि अंग्रेजी माध्यमलाई भर्ना अभियानको मुद्दा बनाएको छ । आधारभूत तहदेखि नै अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराई रहेको प्रधानाध्यापक डा। पूर्ण बहादुर भण्डारीले बताउनुभयो । कक्षा १ देखि १० कक्षासम्म अंग्रेजी नेपाली माध्यमबाट पढाई रहेको उहाँको भनाई छ । रोजगारमूलक शिक्षाका लागि कक्षा ९ देखि १२ सम्म कृषिलाई जोड दिँदै आइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया