सरकार नागरिकता विधेयक छिट्टै अघि बढाउने तयारीमा छ : गृहमन्त्री श्रेष्ठ

सरकार नागरिकता विधेयक छिट्टै अघि बढाउने तयारीमा छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ –   उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक ल्याउने तयारीमा रहेको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले संविधानले जसले जुन प्रावधान अन्तर्गत नागरिकता प्राप्त गर्नेछ भनिएको छ, उनीहरूलाई नागरिकताबाट वञ्चित गरिनुहुँदैन भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यसअगाडि सरकारले नागरिकता संशोधन विधेयक अघि बढाएको, त्यो सांसदले पारित गरेको र त्यो राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको कारणले गर्दा कानुनको रूप लिन नसकेको सबैलाई स्पष्ट नै छ । अहिले पनि सरकार छिटोभन्दा छिटो नागरिकता प्राप्त गर्न पाउनेहरूलाई कानुन बनाएर नागरिकता दिने भनेका छौँ । नागरिकता विहीनहरूको पीडा हामी सबैले बोध गर्न जरुरी छ र सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको छ । नागरिकता पाउनुपर्ने तर नपाइरहेको कानुनको अभावले भइरहेको समस्यालाई छिटो समाधान गर्नका लागि नागरिकता दिन सरकार दृढ र प्रतिबद्ध रहेको छ ।’

उहाँले नागरिकता दिलाउन ढिलाइ नगर्ने बताउँदै नागरिकता जस्तो संवेदनशील जस्तो विषयमा सबै राजनीतिक दल एकताबद्ध हुनका लागि अहिले सबै पार्टी र सरोकारवाला पक्षसँग छलफलमा रहेको जानकारी गराउनुभयो । उहाँले नागरिकता पाउनुपर्ने व्यक्तिलाई नागरिकता दिलाउन सरकार पछि नहट्ने बताउँदै त्यसका लागि राष्ट्रिय सहमति कायम गर्न सरकार प्रयासमा रहेको बताउनुभयो । उनले त्यसका लागि सबैलाई गम्भीरतापूर्वक लिन अपिल समेत गर्दै नागरिकता सम्बन्धी विधेयकलाई अगाडि बढाउन लागेको बताउनुभयो ।

 

प्रतिक्रिया