आयोगका सदस्यद्वारा दलितबीचको अन्तरविभेद हटाउन छोराको मागी विवाह

आयोगका सदस्यद्वारा दलितबीचको अन्तरविभेद हटाउन छोराको मागी विवाह

काठमाडौं — गैरदलितहरुले सधैंजसो गरिरहने प्रश्नहरु हो– ‘दलितभित्र पनि विभेद छ ।’ कामीले र सार्कीले दमाईलाई, दमाईले गन्र्धवलाई, गन्धर्वले वादीलाई र वादीले पोडे च्यामेलाई विभेद गर्छन । यो प्रश्नको उत्तरमा उनीहरुले भन्ने गरेका हुन्छन् यो साँचो हो तर यो विभेद दलितहरुले आफैले लादेको होइन, जसले जातिपातीको रित बसाल्यो ब्राम्हणवादीहरुले दलितहरुमा समेत तिमीहरु पनि उचनीच हुन्छ भनी जात छुट्टयायो ।

दलित आयोगका सदस्य तथा अधिकारकर्मी सुन्दर पुर्कुटी जो वुढानिलकण्ठ नगरपालिका वडा नं ६ मंगालका स्थायी वासिन्दा हुुनुहन्छ । पुर्कुटीले आफ्नो छोरा सुरेश पुर्कुटी (सार्की) तथा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं ११ का गोपाल वादीकी छोरी सीता वादीसँग गराउनुभएको छ । सुरेश र सीताबीच त्यो पनि प्रेम विवाह नभएर मागी विवाह । उहाँहरुबीच शुक्रवार सुर्खेतको झुप्राखोलामै विवाह भएको छ ।


सानै देखि सुन्दर विद्रोही स्वभावका र एमालेको कम्युनिष्ट राजनीतिमा लागेको हुनाले वर्गीय लगायत जातीय समानता हुनुपर्छ भन्ने सोच तथा माग पहिले देखिनै थियो । कम्युनिष्टहरुले वर्गीय समानताको साथै जातीय समानताको कुरा पनि गर्ने भएको हुँदा यसै भित्र रहेर उहाँले राजनीति गर्दा गर्दै यो भन्दा अघिको स्थानीय सरकारमा नगरपालिकाको कार्यपालिका सदस्य पनि हुनुभएको थियो ।

दलित आयोगको सदस्य भइसके पछि विभिन्न ठाउँहरुको अनुगमन गर्ने सिलसिलामा वादीहरुको समेत वस्तीभएको सुर्खेत वीरेन्द्रनगर नगरपालिका अन्तर्गत ११ नं वडामा पर्ने झुप्रा खोलामा गएका थिए । जाजरकोटतिरवाट धेरै पहिले आएका वादीहरुको करिब १०–१५ घर र बाँकी अन्य जातिहरुको समेत वसोवास रहेको सो क्षेत्रका सवै बासिन्दाहरु सुकुम्वासी हुन ।
ऐलानी जग्गामा बसेको हुँदा राम्रो घर बनाउन सक्ने कुरा भएन । उनीहरु सबको गुजारा भेरी नदिको वालुवा तथा झुप्राखोलाको किनारमा रहेका गिट्टी र बालुवा निकालेर बेच्ने उनीहरुको मुख्य पेशा हो । कोहलपुर सुर्खेत राजमार्गको छेउमै पर्ने वादी वस्तीभएको हुँदा दलित अधिकारकर्मी तथा विकासे संस्थाहरुको बाक्लो भ्रमण हुने गर्दथ्यो ।

वादीहरु गरिब र पीडित छन भन्ने सवैलाई परेको हुँदा त्यहाँका केटाकेटीहरुलाई देशका विभिन्न ठाउँहरुका आवासीय विद्यालयहरुमा स्पोन्सर गरेर विभिन्न संस्था तथा व्यक्तिहरुले पढाई दिएको थिए । दलित आयोगका सदस्यको हैसियतले एउट अत्यन्त पछाडि पारिएको दलितवस्तीको अवलोकन भ्रमण गर्ने क्रममा सुन्दर पुर्कुटीको गोपाल वादीसँग भेटघाट भयो । र उहाँकी छोरी सीतालाई आफ्नो छोराको लागि मन पराएका रहेछन, तर छोराको इच्छा नवुझी त्यसलाई टुंग्याउने कुरा पनि भएन । अतः उहाँले काठमाडौं आएपछि आफ्नो विवाह उमेर भएको छोरा सुरेशलाई कुरा राखे । छोराले पनि एकपटक केटीलाई भेटेर मात्रै जवाफ दिने बताएपछि उहाँ पनि झुप्रानै पुग्नुभयो । विवाहको लागि स्वीकृति दिएपछि सुरेश र सीताबीच लगन गाँठोमा गाँसिने अर्थात विवाह गर्ने निधो भएको हो ।

विवाह हुने नै भए पछि केटीले पनि केटाको घर आएर परिवारका सदस्यलाई भेट्दा सीताले जुन व्यवहार देखाउनुभयो त्यसले पुर्कुटी परिवारलाई रिझाएको सुन्दरले बताउनुभयो । अहिले त सुन्दरकी श्रीमति नै आफ्ना दाजुभाई तथा छिमेकीहरुलाई सम्झाउनुहुन्छ । अर्थात जातीय वर्गीकरणमा सार्की भन्दा वादीहरु धेरै तल भएता पनि यस खालको स्वीकार्यता सहित विवाह वन्धनमा वाधिनु आफैमा एउटा क्रान्तिकारी कदम हो ।

आयोगका सदस्य सुन्दर वुढानिलकण्ठ मंगाल गाउँका रैथाने भएको हुँदा उनका सजातीय दाजुभाई तथा छिमेकीहरु नहुने कुरा भएन । पहिला त उहाँको आफ्नै श्रीमतिलाई मनाउनु थियो त्यस पछि दाजुभाई तथा छरछिमेकीहरु र इष्टमीत्रलाई छोराले दलितभित्रको विभेद तोड्न आँट गरेको भन्ने सुनाउनुभयो र विमत्ति राख्नेहरुलाई समेत सहमत गराउनुभयो ।

सुन्दर भन्छन्, म आफै कम्युनिष्ट कार्यकर्ता हुँ, विभेदहरुका विरुद्ध लड्दै आएको हुँ, अहिले त झन म सम्पूर्ण दलितहरुको हकअधिकारका लागि लड्ने संस्थाको सदस्य छु त्यसकारणले गर्दा हामीले कुरा मात्रै होइन काम समेत गरेर देखाउनुपर्छ भन्ने लागेर मैंले छोराको एउटी वादी समुदायको कन्यासँग मागी विवाह गरिदिएको हो । अहिले पनि दलित र गैरदलितविचको विवाह मात्रै नभई दलित दलितबीचको विवाहमा पनि थुप्रै सामाजिक अड्चन मात्रै छैनन, छोराछोरी जन्मिदा समेत सामाजिक अस्वीकार्यताले गर्दा विवाह नै भत्किने अवस्थामा छन् । यस्तो परिवेशमा सुन्दर पुर्कुटीको परिवारले गरेको यो आँटको सह्राना भएको छ र दलितभित्रको अन्तर विभेद हटाउन थालनीको रुपमा पनि सामाजिक अगुवाहरुले व्याख्या गरेका छन् ।

प्रतिक्रिया