बीरेन्द्र सदाको शव चार दिनपछि आफन्तलाई जिम्मा

बीरेन्द्र सदाको शव चार दिनपछि आफन्तलाई जिम्मा

विराटनगर — आफन्तले उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि अस्पतालमै राखिएको सिरहा नगरपालिका–१४ का ३६ वर्षीय बीरेन्द्र सदाको शव विराटनगर न्युरो अस्पतालले शुक्रबार आफन्तलाई जिम्मा लगाएको छ । उपचारमा लागेको भनिएको ३ लाख ३५ हजार उपचार खर्च मध्ये शुक्रबार ५४ हजार मात्र लिएर मृतकका छोरा अंकित र छिमेकी सञ्जयकुमार मण्डललाई शव जिम्मा लगाएको हो ।

न्युरो अस्पतालले उपचार खर्च नतिरेको भन्दै सदाको शव बन्धक बनाएको आमसञ्चार माध्यमहरुमा समाचार प्रकाशित भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवलाई फोन गरेर सदाको शव निकाल्न निर्देशन दिनुभएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी यादव र कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव डा. सुधा देवकोटाले अस्पताल प्रशासनलाई शुक्रबार पैसाका लागि शव राखेर बार्गेनिङ नगर्न दबाब दिँदै सद्गत्का लागि पहिला शव आफन्तलाई बुझाइएकाे हो । शव जिम्मा लिएर परिवारजनले हिन्दू संस्कार अनुसार शवदाह गरी काजक्रिया सुरू गरेकाे बताइएकाे छ ।

उहाँहरुको पहलमा न्युरो अस्पतालको अलवा सदाको उपचारका लागि उधारो औषधि दिएको अर्यान फार्मेसीले पनि आफूले पाउनुपर्ने २ लाख १६ हजार रुपैयाँ छुट दिएको छ । फार्मेसीले यसअघि सदाको परिवारबाट औषधिको ६० हजार रुपैयाँ लिएको बताएको छ ।

ब्रेन ह्यामरेज भएर चैत २८ गते अस्पताल भर्ना भएका सदाको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले शवलाई अस्पतालको मुर्दाघरमा राखेर आवश्यक रकम लिएर आउने भनी रकम जुटाउन नसकेर सदाको शव अस्पतालमै रहेको थियो ।

सदाको मृत्यु हुँदा अस्पतालले उपचार खर्च बापत ३ लाख ३५ हजार पाउनुपर्ने थियो । त्यो रकमको जोहो गरेर शव लिन आउने भन्दै मृतकका आफन्तले शवलाई मुर्दाघरमा राखेर चार दिनसम्म सम्पर्कमा नआउँदा समस्या भएको अस्पतालका प्रशासन प्रमुख राजेश भट्टराईले बताउनुभभयो । भट्टराईले भन्नुभयो ‘मृतकका आफन्त शुक्रबार ५४ हजार रुपैयाँ लिएर आउनुभयो, त्यति नै रकम लिएर सद्गत्का लागि अस्पतालले शव आफन्तलाई जिम्मा लगायो ।’

त्यसैगरी फार्मेसीले पनि आफूले पाउनुपर्ने सबै रकम छुट दिएको छ । फार्मेसीका प्रतिनिधि समिर आलमले शुक्रबार मृतकका आफन्त र प्रशासनसँग सदाका आफन्तबाट औषधि बापत पाउनुपर्ने २ लाख १६ हजार रुपैयाँ नलिने घोषणा गरेको मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया