-महेन्द्र कुमार राना
नौमुले गाउँपालिका-६ दैलेख
नौमुले गाउँपालिका भुगोलको हिसाबले एक विकट र बिकासन्मुख गाउँपालिका हो । पुर्वमा जाजरकोट जिल्ला र भगवतीमाई गाउँपालिका, पश्चिममा महाबु गाउँपालिका र नारायण नगरपालिका,उत्तरमा कालिकोट जिल्ला र दक्षिणमा नारायण नगरपालिकाले घेरिएको २२८.५९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको एक गाउँपालिका हो । याहाको जनसंख्या (पुरुष १०,०३२ र महिला १०, ५५७) २०,५८९ रहेको छ । नौमुले गाउँपालिकालाई जिल्लाको सबै भन्दा अग्लो झरना द्धारीको झरना र जनै पूर्णिमामा लाग्ने महावु मेला आधार शिविर पुग्ने प्रवेश द्धारको रुपमा पनि चिन्न सकिन्छ । मुलुक संघियता मा गए पछि साविकको तोली, बालुवाटार, द्धारी, कालिका, नौमुले, सल्लेरी र चौराठा गाबिसहरुलाई विभाजन गरि ८ वटा वडामा स्थानिय पालिकाको संरचना निर्माण गरिएको छ । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका उद्धेश्यले धनी गाउँपालिका हो नौमुले । बहुजाति, भाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको विशेषता बोकेको नौमुले गाउँपालिका साँस्कृतिक रुपमा सम्पन्न छ । याहाँको समाज “अनेंकतामा एकता” को प्रतिकको रुपमा रहेको छ ।
सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले उत्तर पुर्व तर्फ नाका खोली व्यापारको र सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक पर्यटकीय मार्गका रुपमा नौमुलेले मानसरोवरका रुपमा प्रतिनिधित्व गरेको छ । डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टार, बेसी आदि विविधतायुक्त धरातलिय स्वरुपले धनी रहेको गाउँपालिका हो नौमुले । बेसी वा खोलाका किनारमा बसोवास गर्ने मानिसहरुको मुख्य पेशा कृषि भएता पनि मुख्य गरि फलफूल खेती तरकारी खेती पशुपालन रहेको छ । मध्य स्थान मा बसोवास गर्ने मानिसहरुको मुख्य पेशामा धान, मकै, गहुँ, कोदो, तोरी, तरकारी, फलफूल खेती तथा पशुपालन मुख्य रहेको छ भने अलि लेंकाली क्षेत्रमा बसोवास गर्ने मानिसहरुको मुख्य पेशा मकै, आलु, जौं, गहुँ, उवा, कोदो, फापर, घैया धान सहित भेडा बाख्रा पालन गर्ने गर्दछन । यि उत्पादित वस्तुहरुलाई बिक्रीवितरण गर्ने मुख्य बजारमा नौमुले बजारनै रहेको छ । नौमुले गाउँपालिका जल सम्पदामा धनी छ । यहाँका खोलानालाहरु तथा झरनाहरु सिंचाईका लागि समेटिएको छ । प्रमुख खोलामा लोहोरे खोला र पदम खोला रहेको छ भने प्रमुख झरना मा द्धारीको झरना रहेको छ । दैलेख जिल्लाको कैलाश पर्व भनेर चिनिने महावु मेलामा आउने श्रद्धालुहरुको नौमुले वजार उत्कृष्ट विश्रामस्थल बन्न सक्छ । त्यस्तै दैलेख जिल्लाको सबै भन्दा अग्लो हिमाल तिनचुले र द्धारी झरना को आधार शिविर जाने पर्यटकलाई नौमुलेको अध्यन स्थालबाट दृश्याअवलोकन गराउन सकिन्छ जसका कारण नौमुलेलाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थल वा व्यवसायीक क्षेत्रको रुपमा चिनाउन सकिन्छ ।
समृद्धि के हो ?
बास्तवमा समृद्ध भन्नाले नागरिकको आर्थिक समृद्धता (Economics well being) बुझ्नु पर्छ अर्थात विकासको सबै भन्दा उन्नत र विकसित रुप नै समृद्ध हो । नेपालमा समृद्ध शब्दको प्रयोग असाध्यै धेरै भईरहेको छ । खाश गरि यो शब्द ल्याटिन भाषाको “प्रस्पिरस” बाट उत्पत्ति भएको हो । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जाने क्रमको लामो प्रकृया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरुपता नै समृद्ध हो । समृद्धको महत्वपुर्ण पक्ष भनेको सापेक्ष परिवर्तन हो । समृद्ध नौमुलेका लागि नागरिकको शिक्षा र स्वास्थ्यमा प्रभावकारी रुपमा लगानी गर्नुपर्छ । जुन माध्यमबाट नौमुलेका लागि आवश्यक पर्ने शक्ति र स्रोतको परिचालन गर्न सहज होस । मुलतः नौमुलेको समृद्धि राजनीतिको जगमा नै उभिएको हुन्छ भन्ने बुझ्नु पर्दछ । त्यस्तै अर्थनीति निर्धारण अर्थराजनीतिको स्थान भन्दा माथि हुने गर्दछ । राजनीति ईच्छाशक्ति विना नौमुलेको समृद्ध प्रयास तथा सुधारले सपलता पाउन गाह्रो देख्दछु । नौमुलेको समृद्धिको लागि स्वतन्त्रता, शान्ति, स्थायित्व र जवाफदेहीता, पारदर्शिता अपरिहार्य हँुदाहुँदै पनि बहुदलिय प्रजातन्त्र हुदै गणतन्त्रात्मक राज्य व्यवस्था प्राप्तिपछि पनि हामीमा स्थिरता, सुशासन, नैतिकता, इमान्दारीता र सदाचारीताका विषयमा सधैं कमजोरी भएको पाउन सकिन्छ । विकासका धेरै पक्षहरु पूरा नगरी समृद्धिमा सङ्क्रमण सम्भव हुँुदैन । विकासलाई भौतिक संरचना निर्माण सँग मात्र दाँज्ने गरिएको छ जुन असाध्यै गलत हो । सबै क्षेत्रको समानुपातिक विकास प्रकृयाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । भौतिक वुर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकास समृद्ध नौमुलेका विविध पक्षहरु बीच अन्तरनिहित हुनु जरुरी छ । तसर्थ समृद्ध नौमुले कसरी निर्माण गर्ने र त्यसका चुनौतीहरु के के हुन सक्छन् भन्ने कुरामा व्यापक बहस हुनु जरुरी छ तर अहिले सम्म बहस तथा छलफल गरेको देखिदैन ।
समृद्ध नोमुलेका आधारः
झरना, हरियो वन, अनुपम दृश्यावलोकनका स्थान, प्रसिद्ध धार्मिक स्थल, नदिनाला, प्राकृतिक सुन्दरता, जडीबुटी आदि समृद्ध नौमुलेका आधारहरु हुन । तर हामी कहाँ एकलकाँटे विकास अवधारणाले हामीलाई समृद्ध तर्फ दिशानिर्देश गरिरहेको छैन, हामी सबैको मानसिकता सडक बनाउनु मात्र विकास हो भन्ने छ जुन असाध्यै गलत हो । समृद्ध मापन गर्ने अर्थतन्त्र र भौतिक विकासका धेरै सुचाङ्कहरु छन् । यि सुचाङ्कहरुलाई भेटिसके पछि मात्रै समृद्धको दर्जामा राख्न सकिन्छ । जस्तै नौमुलेको कुल ग्राहस्थ उत्पादन (जीडीपी), शैक्षिक गुणस्तर, स्वास्थय सुविधाको स्तर, सञ्चार सुविधा, स्वच्छ खानेपानी, यातायात (सडक सञ्जाल) नविनतम प्रविधिको उपयोगको उच्चतम विन्दु समृद्धका मापदण्डहरु हुन । तसर्थ यि मापदण्डहरु पुरा गरेपछी मात्र नौमुलेको विकास र समृद्धको दर्जामा पुग्न सकिन्छ अनिमात्र आर्थिक र भौतिक रुपले सम्पन्न समाजलाई समृद्ध नौमुले भन्न सकिन्छ । हामी राजनीतिकर्मी वा जनप्रतिनिधिहरु रोजगारी सिर्जना गर्नाले मात्र नौमुलेको मुहार फेरीने हावादारी गफ गर्न माहीर छौ । पछिल्लो समय प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका नाममा अर्बौ बजेटको दुरुपयोग भएको देख्न पाईन्छ बास्तवमा रोजगारी बढ्दैमा गाउँपालिका र देशको आर्थिक स्तरमा सुधार आउदैन । बस्तु तथा सेवाको उत्पादन गर्ने रोजगारीले मात्र हाम्रो आर्थिक स्तरमा सुधार आउछ । उदाहरणका लागि सन १९७० दशकमा चीन भ्रमण गरेका एक जना इन्जिनियरको प्रसंग उल्लेख गर्न चाहान्छु ती इन्जिनियरले त्याहाँ ठुलो सख्यामा मान्छे गैंटी बेल्चाको प्रयोग गरेर बाँध बनाइरहेको भेटेछन् । उनले अचम्ममा परेर ती कामदारको सुपरिवेक्षकलाई भनेछन्, “यीनलाई डोजर तथा अन्य साधन दिनुभयो भने त यो काम महिनौ नभएर केही दिन भित्रै सकिन्थ्यो नि !” उक्त सुपरिवेक्षकले जवाफ दिएछन्, “त्यसो गर्यो भने यत्रो रोजगारी सबै नष्ट भइहाल्छनी !” यस्तो जवाफ सुनेर इन्जिनियरले भनेछन्, “ए म त तपाईको उद्धेश्य बाँध बनाउनु पो हो भन्ठानेको । तपाईलाई रोजगारी सिर्जना गर्नु छ भने त यी मान्छेहरुलाई बेल्चाको साटो चम्चा दिनुस न !” तसर्थ हामीले तत्कालीन नतिजालाई मात्र नहेरेर दीर्घकालीन नतिजाहरु पनि हेर्नु जरुरी हुन्छ, प्राथमिक प्रभावलाई मात्र नभएर द्धितिय प्रभावलाई पनि हेर्नु पर्दछ र कुनै विशेष समुह माथिको प्रभाव मात्र नहेरेर सबैलाई प्रभाव पार्ने तत्वहरु हेर्नु पर्ने आवश्यक्ता देख्तछु ।
नौमुलेको विकास र समृद्धिको वाधकः
यो गाउँपालिका विकासको दृष्टिले पछाडी छ । दुर्गम र विकट गाउँपालिकाको रुपमा चिनिने यस गाउँपालिका प्राकृतिक श्रोत र साधनले सम्पन्न हुंदाहुदै पनि यसको समुचित प्रयोगमा चुकेका छौं । नौमुलेबासीको आर्थिक अवस्था सुध्रिन सकेको छैन । विकासका आधारभुत कुराहरु जस्तै यातायात, बिद्युत, संचार, सिंचाई, शिक्षा, स्वास्थ्य, खानेपानी आदि कुराहरुमा राम्रो विकास नभएकाले यांहाका जनताले विकासको अनुभव गर्न सकिरहेको छैन । दैनिक उपभोग्य वस्तुहरु मंहगो हुनुका साथै यस क्षेत्रको कृषि तथा अन्य व्यवसायिक हुन नसक्दा जनताको आर्थिक अवस्था परम्परागत शैलीबाट माथि उठ्न सकिरहेको छैन । समृद्ध नौमुलेको बाधकको रुपमा गुणस्तरहीन पुर्वाधार, राजनीतिक दाउपेच, नीति कार्यान्वयनमा अनिश्चितता, आसेपासे अर्थतन्त्र, सुशासनमा कमी र व्याप्त भ्रष्टाचार जस्ता कार्य नौमुले गाउँपालिकामा मात्रै नभई मुलुक भरिनै रहेको पाईन्छ । त्यस्तै उत्पादकत्वमा कमी जस्ता थप कारण पनि हुन् । हामीकहाँ रहेको कमजोर शासन प्रणाली नै समृद्धको मुख्य बाधक हो । तसर्थ हामीले सुशासनलाई नौमुलेको समृद्धिको माध्यमका रुपमा उपयोग गर्न सक्नु पर्दछ । समृद्ध नौमुलेमा जानु भन्दा पहिले नौमुलेले भोगेका आधारभुत समस्याहरुको पहिचान गर्नु जरुरी छ ।
श्रम सहभागीतामा वृद्धि, समावेशी र आर्थिक क्रियाकलापमा विस्तार जस्ता कुरा नौमुलेको समृद्धिको लागि अत्यावश्यक कुराहरु हुन् । नौमुलेका जनताको आम्दानी वृद्धि गर्नका लागि पुँजी, रोजगारी, प्रविधि, स्वास्थ्य र शिक्षाको स्तर, उद्यमशीलता र व्यापार तथा आर्थिक सुधारको स्थिरताले महत्वपुर्ण भुमिका खेल्न सक्छ । समृद्धिका लागि श्रम र पुँजीको महत्वलाई गहिरो अध्यन गरेर उद्योगको विकास, पुँजिको सुरक्षा, श्रम र कानुन जस्ता यावत विषयलाई विशेष ध्यान दिनु पर्दछ । त्यस्तै राजनीतिक प्रतिस्पर्धा, सहभागीता र जवाफदेहीताको बलियो प्रणाली, संयन्त्र र संस्थागत संरचना लाई दिगो र स्वीकार्य बनाउनु जरुरी छ । जव सम्म विधिको शासन कायम हुदैन, तव सम्म विकास र समृद्ध नारामा मात्र सीमित हुन्छ । जाहनियाँ राणा शासन, बहुदलीय व्यवस्था, राजाको प्रत्यक्ष नेतृत्वमा निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्था पार गर्दै अहिले हामी संघिय गणतन्त्रात्मक व्यवस्थामा छौं । नेपाली जनताले एक पछि अर्को आन्दोलन र राजनीतिक व्यवस्थाहरु परिवर्तनका लागि करिब सात दशक समय व्यतित गरिसकेका छन् ।
यद्यपि हामीकहाँ व्यवस्था र पात्र परिवर्तन भैैरहे । परिणामस्वरुप नौमुलेको विकास र समृद्धि मात्र नभई मुलुकै समृद्धिको अभिलाषा अझै पुरा हुन सकेको छैन । मुलुक संघीय लोकतन्त्र नेपालमा प्रवेश गरेपछि भ्रष्टचार निर्मुल हुन्छ, सुशासन आउँछ, सार्वजानिक सेवाप्रवाह चुस्त र जनमैत्री हुन्छ, भौतिक पुर्वाधारको विकास हुन्छ भन्ने जनतामा ठुलो आशा र विश्वास थियो । तर त्यसको ठीक उल्टो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आईसके पछि पनि मुलुकमा सुशासन कायम हुन सकेको छैन, राजनीतिक कार्यकर्ता र कर्मचारीहरुको कार्यशैली बदलिएको छैन यो दुखद पक्ष हो, तसर्थ नोमुलेको समृद्धि प्राप्त गर्न ठुलो संकल्प नै चाहिन्छ । यस्तो संकल्प पुरा गर्न सक्षम नेतृत्वको आवश्यकता पर्दछ । नेतृत्व लोभ, इष्र्या र पुर्वाग्रहबाट मुक्त र लक्षप्रति अठोट भएको हुनु पर्दछ । समृद्ध हासिल गर्नका लागि नौमुलेका जनप्रतिनिधिहरुले आफ्नो भौगोलिक वनावट, भूराजनीतिक स्थिति र आफ्नो सामथ्र्य र आवश्यक्ताका आधारमा समृद्धिको खाका कोर्न सक्नु पर्दछ ।
यस्तो खाका कोर्दा दुरदर्शी, रणनीतिक टिकाउ, भरपर्दो र वातावरणमैत्री हुनु पर्दछ अनिमात्र समृद्ध आउन सक्छ । त्यस्तै नौमुलेको सुदृढ र भर पर्दो यातायात सञ्चालन, जलविद्युत विकास, दिगो र भरपर्दो पर्यटनको विकास, कृषि आधुनिकीकरण, जडिबुटी उत्पादन र प्रशोधन, धार्मिक पर्यटनको प्रचार प्रसार, पुर्वाधार निर्माण र लोपोञ्मुख बन्यजन्तु संरक्षण परियोजना आदिले मात्र पनि समृद्धि दिन सकिन्छ । समृद्ध एउटा गतिशील तथा निरन्तर रुपमा आर्थिक, सामाजिक, सास्कृतिक, प्रशासनिक, र वातावरणीय क्षेत्रमा भएको सकारात्मक परिवर्तन हो । जब सम्म पछाडि पारिएका नौमुलेका जनतामा अनुभुति हुने गरी उनीहरुको जीवनमा कुनै परिवर्तन आउदैन, त्यो समृद्ध होईन । अब नौमुले जनताले हामी विकासको कुन चरणमा छौं ? नौमुलेमा समृद्धिका प्रमुख अवरोधहरु के के छन् ? के गर्यो भने समृद्ध हुन्छ ? यी र यस्ता यावत प्रश्नहरुको हामीले समाधान खोज्नु आवश्यक देखिन्छ ।
नौमुले समृद्धिका चुनौती र सम्भावनाः
नौमुलेमा रहेका पहाड, बेसी, वनजंगल, कृषि भूमि, तथा जडिबुटीहरुले उत्पादनको सम्भावना बोकेको छ, प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावनाहरु रहेता पनि ती स्रोतहरुको प्रभावकारी उपयोग हुन नसक्दा यो गाउँपालिकाको विकासको स्थिति तुलनात्मक रुपमा न्यून हुन गएको छ । त्यसैले यहाँ अर्थतन्त्रका विभिन्न क्षेत्रको तीब्र विकास आवश्यक छ । यस गाउँपालिकामा नमस्ते, स्काई, एनसिएल, सञ्चार सेवा चलेता पनि नौमुले गाउँपालिकाको केहि वडाहरु (२ नम्बर वडाको माथिल्लो क्षेत्र, ३ नम्बर वडाको केही भेंक, ४ नम्बर वडाको माथिल्लो क्षेत्र) मा अझ पनि सञ्चार सेवा बाट बञ्चित छन् । सार्वजानिक शिक्षा र स्वास्थ्यमा लगानी अनुरुपको सुधार हुन सकेको छैन । सामुदायिक क्याम्पस स्थापना गर्न कसैको पहल देखिदैन । स्वास्थय चौकीहरुलाई सुधार गर्दै गुणस्तरीय बनाउनु आवश्यक छ । विद्यालय भर्नादरमा सूधार हुदै गएता पनि बीचैमा पढाई छाड्ने प्रबृत्ति अझै उच्च नै देखिन्छ । तसर्थ गुणस्तरीय स्वास्थ्य र प्राविधिक शैक्षिक संरचनाहरु निर्माण गर्नु जरुरी छ । शिक्षा र स्वास्थयको अवस्थामा सुधार ल्याउन नौमुलेका जनसमुदायहरुको चेतना अभिवृद्धि हुन आवश्यक छ । नोमुलेमा चुनौतिका साथसाथै अथाह सम्भावनाहरु समेत रहेका छन् । जुन निम्न अनुसार छन्ः
सम्भावनाहरुः
. शिक्षा र स्वास्थ्य क्षेत्रलाई लगानीका माध्यमबाट गुणस्तरीय बनाउने ।
. नौमुलेका खोलानाला प्रणाली तथा जलविद्युत परियोजना अगाडि बढाउने ।
. विकास र लगानीका लागि कृषि उद्योग खोल्ने ।
. अर्गानिक÷रैथाने कृषि उत्पादनको सम्भावना ।
. युवा जनसांख्यिक लाभ लिने ।
. जलस्रोतको समुचित उपयोग गर्ने ।
. आकर्षक पर्यटक स्थलहरु ( नौमुल, द्धारीको झरना, पैतीको शिवताल, धार्मिक क्षेत्र महाबु, लोहोरे खोला) मनोरम बनाउने ।
. पर्यटकीय क्षेत्रलाई संघिय संरचना संग जोड्ने ।
. प्रदेश, स्थानीय, तह अनुसारको प्रोफाइल तयार गर्ने ।
. सुरक्षित र भरपर्दो यातायातको सुनिश्चितता गर्ने ।
. गन्तव्यहरुको पहिचान, र प्रवद्र्धन गर्ने ।
. वातावरणीय दीगोपनमा जोड दिने ।
. परम्परागत मौलिक संस्कृतिमहरुको संरक्षण र प्रवद्धन गर्ने ।
. व्यवसायिक दक्ष जनशक्ति विकास गर्ने ।
चुनौतीहरुः
. विकास सम्बन्धी नीतिको अभाव रहनु तथा विद्यमान ऐन /नीतिमा समयसापेक्ष सुधार नहुनु ।
. भौतिक योजना र लगानी कार्यक्रम बीच तालमेल नहुनु ।
. नियमित सुरक्षित र भरपर्दो यातायत नहुनु तथा उत्तर तर्फ अन्य जिल्ला संगको नाका नखुल्नु ।
. सेवा सुविधामा गुणस्तरीय तथा गुणात्मक बृद्धि गर्न नसक्नु ।
. स्थानीय तहहरु आधारभूत सुविधा निर्माण भन्दा आय आर्जन हुने आयोजनामा आकृष्ट हुनु ।
. प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि नगर्नु ।
. विकासलाई व्यवस्थित र समन्वय गर्न अधिकार सम्पन्न उच्च स्तरको निकाय अभाव हुनु ।
. पुर्वाधार विकासमा लगानी बृद्धि नहुनु ।
. सम्भावना र अवसरलाई आय आर्जनमा रुपान्तरण नगर्नु ।
. लैंगिक समानता र महिला सशक्तिकरण नहुनु ।
. यो समय सम्म सबैका लागि खानेपानी तथा सरसफाईको दिगो उपलब्धता नहुनु ।
. सबैका लागि स्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता उपलब्धता नगराउनु ।
. समावेशी र दिगो आर्थिक बृद्धि एंव रोजगारी दिन कठिन हुनु ।
अन्त्यमाः
दीर्घकालीन विकासको दृष्टिकोणबाट सरकारले तयार गर्ने लक्ष्य तथा उद्धेश्यहरु र नौमुलेको वर्तमान आर्थिक मार्गचित्रको वास्तविक जानकारी विना कुनै पनि भावी कार्यक्रमहरु तय गर्न नसकिने हँुदा उपरोक्त आर्थिक धरातलीय आधारमा आगामी विकासको मोडल तय गर्नु आवश्यक देखिन्छ । संघिय, प्रदेश तथा स्थानीय सरकारले संभावना र अवसरहरुलाई प्राथमिकतामा राखी नौमुलेको नीति योजना र कार्यक्रम तयगरी सोही अनुसार कार्यान्वयन गरेमा नौमुलेको द्रुत गतीमा आर्थिक विकास सम्भव छ । नौमुले गाउँपालिकामा पुर्वाधार निर्माण र उद्योग स्थापना हुँदा वेरोजगारी समस्या अन्त्य हुन्छ । जसका कारण नौमुलेमा रहेका श्रमशक्तिहरुविदेश नगई स्थानीय स्तरमा नै काम गर्ने प्रबृत्ति उच्च रहेको देखिन्छ ।
समृद्धिका लागि उच्च आर्थिक बृद्धि अपरिहार्य हुने गर्दछ । आर्थिक बृद्धिले रोजगारी सृजना, आय बृद्धि र गरिबी घटाउछ । नौमुलेको आर्थिक बृद्धिदर बढाएर र आय असमानता घटाएर निम्न र मध्य वर्गको संख्या बढाउन सक्छ । कुनै पनि लोकतन्त्रमा आर्थिक रुपमा साक्षर जनसख्याले संस्थाहरुको स्थापना तथा स्वतन्त्रता, आर्थिक बृद्धि तथा समृद्ध संग अनुकूल हुने किसिमका नीतिहरु अवलम्बनका लागि आधार प्रदान गर्दछ साथै नौमुलेको समृद्ध निर्माणका लागि व्यवसायिक अभ्यासहरु अनुकरण गर्ने, वस्तु तथा सेवाहरुको आपुर्ति गर्ने र उच्च आर्थिक वृद्धि हासिल गर्न ठुलो सहयोग पुग्दछ । विशेषगरी आर्थिक वृद्धिले जीवनस्तर उकास्नुका साथै मानिसको जीवनको लम्बाई र गुणस्तर दुबैमा अभिवृद्धि गर्ने गर्दछ ।
प्रतिक्रिया