वैवाहिक बलात्कार कसूरमा एक महिना कैद
सप्तरी – ३२ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई शुक्रबार एक महिना कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलासले आरोपितलाई कैदका साथै ५५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने र फौजदारी कसुर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्न लगाउने समेत फैसला भएको स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।
आरोपितले २०७९ असोज २० गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा असोज २१ गते उजुरी दिनुभएको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा असोज २१ गते स्वास्थ्य परीक्षण भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले असोज २४ गते उजुरी दर्ता गरेको थियो । सोही दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेर जिल्ला अदालतमा कात्तिक १५ गते अभियोगपत्र दायर गरेको थियो । जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलासबाट आरोपित ०७९ कात्तिक १७ गते धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।
प्रतिक्रिया