सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ –   सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ।

नेपालले उपाधिका लागि मंगलबार मलेसियासँग खेल्नेछ। नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भयो।

सिंगापुरका लागि रोशन रविचन्द्रनले २४ रनको योगदान दिए। अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिगांपुरलाई कम स्कोरमा रोक्न नेपालका कार्तिक कामतले ३ विकेट लिए। सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, कार्तिक अभिषेक तिवारी र प्रतिक पोखरेलले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो। ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए ।

पहिलो विकेटका लागि यादव र कोईरालाले ११.३ ओभरमा ६३ रनको साझेदारी गरे। कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए। मध्यक्रमका ब्याटर सन्तोष यादवले १८, प्रतिक भट्टराईले १२ रन थपे। दीपु कुमार १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा पवेलियन फर्के।

सिंगापुरका हरिहरन एक्लैले ३ विकेट लिए। हर्ष वेंकटराम र कबिरले समान २ विकेट लिए।

प्रतिक्रिया