परिवारमा बालमैत्री वातावरणका लागि सकारात्मक अभिभावकत्व
दैलेख – विद्यार्थीले पाठ कण्ठ गर्न नसकेर वा गृहकार्य नगरी आएको विषय वा पढाइलेखाईका विद्यालयका क्रियाकलापमा जान्न नसकेका वा कमजोरलाई शिक्षकले कुटपिट गर्ने पढाइको सन्दर्भदेखि घरायसी कामको सिलसिलामा मद्दत नगरेको बहानामा अभिभावकहरुले हिंसा गर्ने पुरानो परम्परा हो ।
बालबालिका माथि विद्यालयमा कुटपिट नगरी मायाप्रेमका साथ सिकाउनुपर्छ भन्ने अवधारणामा बालमैत्री शिक्षण सिकाईको अभ्यास हुन थालेको दुई दशक भइसक्यो । विद्यालयमा बालमैत्री वातावरणपछि अब बालबालिकालाई घरमा हुने हिंसा पनि रोक्न सकारात्मक अभिभावकत्वको थालिएको छ ।
सकारात्मक अभिभावकत्व सम्बन्धी सिद्धान्त तथा विधि अभिमुखीकरण गरी तनाव व्यवस्थापन रणनीतिको विकास गर्न र आफनै हेरविचारको लागि उपायहरुको खोजी गर्ने उद्देश्यले गुराँस गाउँपालिका वडा नंं. १ र २ मा सञ्चालित सकारात्मक अभिभावकत्वका लागि हिंसा रहित कक्षा हालै सम्पन्न भएका छन् ।
गुराँस गाउँपालिकाका ८ वटै वडामा सञ्चालित सहयात्रा परियोजनाले यो वर्ष वडा नं. १ र २ मा सञ्चालित सकारात्मक अभिभावकत्व सम्बन्धी अभिमुखीकरणको प्रभावका आधारमा अरु वडामा विस्तार गरिने बताइएको छ । परिवार र समाजमा बालमैत्री वातावरण सिकाईका लागि सकारात्मक अभिभावकत्व अभिमुखीकरण नेपालमै पहिलो अभ्यास हो ।
सोसेक नेपालको सहयात्रा परियोजनाले कक्षामा ६ देखि ९ वर्ष समूह, १० देखि १३ वर्षकाहरुको दोश्रो र १४ देखि १७ वर्ष उमेर समूहका अर्को समेत तीन वटा उमेर समूहका बालबालिकाको लागि ९ वटा सत्र र उनीहरुका अभिभावकहरुको लागि १० वटा सत्रमा ४ महिनासम्म सञ्चालन गरिएको थियो ।
अभिमुखीकरणमा सहभागी हुनु पहिला बालबालिकालाई कुटने, विद्यालय नपठाउने, छोरीलाई हेप्ने गरेका अभिभावकहरुले छोरालाई भन्दा बढी छोरीलाई माया गर्ने गरेको बताउदै तारा रावलले सुनाउनुभयो ।
‘सकारात्मक अभिभावकत्व कक्षापछि बालबालिकालाई कुनै प्रकारको हिंसा गरेका छैनौं । बालबालिकाले कुनै गल्ती गरेमा कसरी सुधार गर्न सकिन्छ भनेर हामीलाई पनि थाहा भयो’ एक जना अभिभावक पदम बिकले भन्नुभयो ।
‘विद्यालयबाट छोराछोरीलाई घरमा छिटो आएर काम गर भन्थ्यौं । अर्का घर जाने छोरीलाई पढाएर के काम छ भन्ने सोचाई थियो । सकारात्मक अभिभावकत्वले गर्दा हाम्रो आँखा खोलिदिएको छ । अंश खाने छोरालाई धेरै पढाउनुपर्छ छोरीले कम पढे पनि हुन्छ भन्ने हाम्रो पुरानो सोचाईमा परिवर्तन आयो’ अर्की अभिभावक भद्रा रावलले बताउनुभयो ।
‘बालबालिकालाई हिंसा गर्नुहुदैन र बालबालिका माथि जुनसुकै प्रकारको हिंसा भए १०९८ बालहेल्पाइन र प्रहरीको १०० मा फोन गर्नपर्ने कुरा पनि हामीलाई जानकारी भयो । हिंसाको अवस्था हेरी उद्धार, स्वास्थ्य उपचार, अल्पकालिन आश्रय र कानूनी सहयोग पाउने कुरा पनि थाहा भयो’ अर्की बालिका सम्झना बुढाले भन्नुभयो ।
हिंसा दुव्र्यवहार, वेवास्ता, बालबालिकाहरुलाई गरिने विभेद जस्ता कुराले बालबालिकाको जिवनमा दिर्घकालिन असर पर्ने भएको हुदाँ कुनै पनि अभिभावकले त्यस्तो कार्य नगर्न सकारात्मक अभिभावकत्व कक्षामा सहभागीहरुले सिकेको बालिका विपना रावलको बताउनुभयो ।
हिंसा रहित सकारात्मक अभिभावकत्व सहभागी बालक शेरबहादुर महतले अनुभव सुनाउनुभयो ‘बालबालिकाहरुको लागि सुरक्षित र असुरक्षित ठाउको बारेमा जानकारी भयो । मानसिक यातना, शारीरिक पींडा कस्तो खालको हुन्छ भन्ने कुरा पनि हामीले बुझेका छौं ।’
शारीरिक छुवाई एकदमै व्यक्तिगत कुरा भएको र कुन भागमा कसरी कसले छोयो र त्यसले हामीलाई कसतो महसुस गरायो भन्ने कुराको जानकारीले बालबालिकामाथी हुने हिसा न्यूनिकरण गर्न सहयोग पुगने महतले व्याख्या गर्नुभयो ।
गुराँसको दुर्गम बस्तीमा सञ्चालन गरिएको यो कक्षाले बालबालिका र अभिभावकहरुको क्षमता विकास गर्न सहयोग गरेको गुराँस गाउँपालिका–१ का वडासदस्य दानबहादुर पुलामी मगरले बताउनुभयो । उहाँले थप्नुभयो ‘यो कक्षा हाम्रो जिवनमा हुने दैनिक व्यवहारहरुको परिवर्तन गर्नका लागि महत्वपूर्ण छ ।’
हामी अहिले पनि हाम्रा बालबालिकालाई उपनामले बोलाउने गर्दछौ यसले उसको जिन्दगीमा कति धेरै असर गर्छ भन्ने कुरा कहिल्यै ख्याल राखेनौं । छोरीलाई उच्च शिक्षा पढाउदा परिवार राम्रो बन्छ भन्ने कुरा हाम्रो समुदायले कहिल्यै बुझेनाैं ।
‘मलाई विश्वास छ यो कक्षामा सहभागी यहाँहरु सबैले बालबालिका माथी हुने सबै प्रकारका हिंसा अन्त्यका लागि पहल गर्नुहुनेछ । बालविवाह, बालश्रम छाउपडी जस्ता हाम्रो समाजमा रहेका कुप्रथाहरुको अन्त्यका लागि पनि तपाईको भूमिका महत्वपूर्ण हुनेछ’ सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले भन्नुभयो ।
बालबालिकाको अधिकार, बालविकास, सकारात्मक अभिभावकत्व, लैगिक तथा भेदभावविहिनता, बालबालिकामाथि हुनसक्ने हानि वा जोखि तथा कुनै सहयोगको खाचो भएमा कहाँ र कसरी सहयोग लिने भन्ने बारेमा अभिभावकहरुको बुझाई बदल्न सक्नु नै सकारात्मक अभिभावकत्व को मुख्य उपलब्धी हो सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले सुनाउनुभयो ।
बालबालिकाले राम्रो संस्कार घर परिवार र विद्यालयबाट सिक्ने गर्दछन् । परिवारबाट सिकेको राम्रो सँस्कारले जीवनको सिकाई बदल्ने र उज्ज्वल भविष्य निर्माणको लागि सकारात्मक अभिभावकत्व एक आधार बनेको बालसंरक्षण संयोजक अधिकारीले प्रष्ट्याउनुभयो ।
प्रतिक्रिया