छोरी बलात्कारको कसूरमा तेत्तीस वर्ष कैद

छोरी बलात्कारको कसूरमा तेत्तीस वर्ष कैद

दैलेख – १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसूरमा ५० वर्षका एक जनालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो ।

गएको चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तारको काम पनि त्यही दिन भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो ।

फैसलमा तीन लाख रुपैंयाँ जरिवाना, ५० हजार रुपैंयाँ पीडित बालिकालाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानले जानकारी दिनुभयो ।

बलात्कार गरेको पुष्टी भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्ष समेत थपेर कसूरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

दैलेखमा चैतदेखि जेठसम्म ती महिना अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चार वटा मुद्दा प्रहरी मार्फत अदालत पुगेका छन् ।

सोमवार भएको सजाय निर्धारण पेशीमा पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो ।

सरकावादी मुद्दाहरुमा जिल्ला सरकारी वकील कार्यालयले कसूरदारलाई अधिकतम् सजायको मागदावी सहित अदालतमा अभियोग दर्ता गराउने र पीडितको तर्फबाट निशुल्क बहस पैरवी गर्ने गर्दछ ।

यो घटनामा सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रले पीडित पक्षलाई उजुरी दिंदादेखि अदालतको कामले आउदाजाँदा शुल्क आवासको व्यवस्था र पीडितलाई मनोविमर्श सेवा उपलब्ध गराएको थियो ।

पीडितले न्याय पाएको जानकारी पाउदा आफूलाई खुशी लागेको महिला तथा बालबालिका सेवा कन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले बताउनुयो ।

प्रतिक्रिया