रास्वपामा सहभागी हुने बित्तिकै उम्मेदवार बन्ने होइन : सभापति लामिछाने

रास्वपामा सहभागी हुने बित्तिकै उम्मेदवार बन्ने होइन : सभापति लामिछाने


काठमाडौँ -   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताउनुभएको छ  । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेकोमा आपत्ति जनानाउनुभएको हो । 

सभापति लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आबद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ । साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो ।’

उहाँले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पार्नुभयो । लामिछानेले थपे, ‘मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो, नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’ 

प्रतिक्रिया