नेपाल र चीनका अधिकारीहरुबीच सीमा सुरक्षाबारे छलफल

नेपाल र चीनका अधिकारीहरुबीच सीमा सुरक्षाबारे छलफल


सिमकोट – नेपाल र चीनका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुबीच छलफल भएको छ।

मंगलबार चीनको पुराङ काउन्टीको ताक्लाकोटमा भएको बैठकमा सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि, सीमा सुरक्षालगायतका विषयमा छलफल भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

दुई देशका सुरक्षा अधिकारीहरुबीच कोरोना महामारीपछि पहिलो पटक छलफल भएको छ। उक्त छलफलमा नेपाली टोलीको नेतृत्व प्रजिअ पौडेलले गर्नुभएको थियो । 

बैठकमा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने, चोरी पैठारी हुन नदिनेलगायतका विषयमा समझदारी भएको प्रजिअ पौडेलले बताउनुभयो । साथै बैठकमा दुई देशबीचको सामाजिक साँस्कृत सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता दुबै देशका अधिकारीहरुले गरेका थिए। आगामी बैठक नेपाली भूमिमा गर्ने पनि सहमति भएको छ।

बैठकमा भाग लिन प्रजिअ पौडेल, नाम्खा गाउँपालिकका अध्यक्ष प्रेमबहादुर लामा, जिल्लास्थित तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको समेत सहभागिता थियो।-देश सञ्चार

प्रतिक्रिया