सभामुख घिमिरेले बोलाए प्रमुख तीन दलका शीर्ष नेताको बैठक

सभामुख घिमिरेले बोलाए प्रमुख तीन दलका शीर्ष नेताको बैठक


काठमाडौं -    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । संसदको गतिरोेध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आह्वान गर्नुभएको हो । 

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गर्नुभएको थियो  । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।

आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिएका थिए ।

प्रतिक्रिया