हुम्लाको पैमा खोलामा वर्षाले सडक अवरुद्ध

हुम्लाको पैमा खोलामा वर्षाले सडक अवरुद्ध


सिमकोट-     हुम्लाको पैमा खोलामा वर्षाले पानीको सतह बढेका कारण सडक अवरुद्ध भएको छ।

कर्णाली करिडोरको हुम्ला खण्डको सडक ताँजाकोट गाउँपालिका( ५ का पैमामा वर्षाले खोलामा पानी बढेपछि यातायातका साधन वारपार गर्न नसक्ने भएको कारण सडक अवरुद्ध भएको हो।

ताँजाकोटका स्थानीय धनराज ढकालले पाँच दिनदेखि कर्णाली करिडोरको हुम्ला खण्डको पैमा खोलामा यातायात सेवा बन्द भएको बताउनुभयो । वर्षा भइरहने भएकाले खोलामा पानी निकै बढेका कारण यातायातका साधन वारपार गर्न नसक्ने भएको कारण यातायात सेवा बन्द भएको हो।

खोलामा पुल नभएको कारण गाडी वारपार गर्ने अन्य विकल्प नभएको कारण यात्रुहरू समेत पैमा मै अलपत्र परेका छन् भने नेपालगञ्ज, सुर्खेत र बाजुराबाट हुम्ला आउने यातायातको साधन पैमा खोलाबाट अदानचुलीको केन्द्र श्रीनगर, गल्फागार्ड, बालुकुना र सलीसल्ला आउने साना(ठुला यातायातका साधन पैमामा अलपत्र छन्।

खोलामा ठुला ढुङ्गा बगेर आएको कारण यातायातका साधनलाई डोजरले समेत तान्न सक्ने अबस्था रहेको छैन। यसअघि स्थानीयले पटक पटक पैमा खोलामा बेलिब्रिज निर्माणको लागि माग गर्दै आएको भएपनि सुनुवाइ हुन नसकेको कारण अहिलेको समस्या भोग्नु परेको हो।

अब पैमा खोला नघटेसम्म कवाडीदेखि सलीसल्लासम्मको सडक सुचारु हुने अवस्था नरहेको पैमाका स्थानीय बताउँछन्।

जिल्ला प्रहरी कार्यालयलले पैमा‍देखि सलीसल्लसम्मको यातायात सेवा बन्द रहेको कारण यसलाई सुचारु गराउनका लागि हिल्सा सिमकोट सडक आयोजनासंग पहल भइरहेको भएपनि काम अगाडि बढ्न नसकेको जनाएको छ।

प्रहरी समेत दैनिक पैमा खोलामा पुग्ने गरेको छ। यातायात सेवा अवरुद्ध भएपछि श्रीनगर, बालुकुना र सलीसल्लामा सामानको अभाव हुन थालेको छ भने सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका लागि आउने विकास निर्माण सामाग्री ढुवानी हुन पनि ठप्प भएको छ।-देश सञ्चार

प्रतिक्रिया