उच्चस्तरीय समिति नबनेसम्म अवरोध नहटाउने एमालेको अडान
काठमाडौँ - साउन १० गतेदेखि जारी संसद्को अवरोध हटाउने कुरामा अझै पनि दलहरुबीच सहमति हुन सकेका छैनन्।
आइतबार सभामुख देवराज घिमिरेको पहलमा बसेको सदनका सत्ता र प्रतिपक्षी दलका सांसदहरुको छलफलका क्रममा एमालेले आफ्नो अडान नछाडेको हो।
बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले साउन ३ गते बरामद भएको ६० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म अघि बढ्न नसकिने बताउनुभयो ।
‘अहिले आन्तरिक छलफलमै छौँ । तर उच्चस्तरीय समिति नबनेसम्म हामी अघि बढ्न सक्दैनौँ’, उहाँले भन्नुभयो, ‘सुन प्रकरणमा एमाले उच्चस्तरीय समितिबाट दायाँ बायाँ हुँदैन।’
उहाँले यति लामो समयसम्म सदन बन्धक बनाउन नहुने पनि बताउनुभयो । ‘सुन तस्करीमा उच्च तहको संलग्नता रहेको कुरा आइरहेको छ’, उहाँले भन्नुभयो, ‘एमालेले उठाएको जायज माग सुन्न सरकार तयार भए सदन रोकिँदैन ।’
प्रतिक्रिया