एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष एवम् इलाम-२ प्रतिनिधिसभासदस्यसुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ । तत्कालिन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो ।  

काठमाण्डौंको बालुवाटरस्थित आफ्नै निजी निवासमा उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको नेम्वाङका पारिवारिक श्रोतले जानकारी दिएको छ ।

२००९ फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनुभएको थियो । त्यसअघि २०४८ देखि २०५४ सम्म राष्ट्रियसभा सदस्य हुनुुहुन्थ्यो । २०६३ सालमा पहिलोपटक अन्तरिम संसदमा सभामुख बन्नुभएका नेम्वाङ २०६४ काे पहिलाे र २०७० मा भएकाे दाेश्राे संविधानसभा निर्वाचनमा  दुई कार्यकाल संविधानसभाकाे अध्यक्ष बन्नुभएकाे थियाे । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु शिक्षण अस्पातलमा पुगिसक्नुभएको छ । उहाँकाे पार्थिव शरीर श्रदाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने र मंगलबार सदगद गरिने जनाइएकाे छ । 

२०५१ को मध्यावधि निर्वाचनपछि संसदमा ठूलो दलको हैसियतमा नेकपा एमाले तत्कालिन अध्यक्ष मनमोहन अधिकार प्रधानमन्त्री हुँदा उहाँको १४ सदस्यीय मन्त्रीय परिषदमा नेम्वाङ कानून तथा न्याय मन्त्री बन्नभएको थियो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

नेपाल ल क्याम्पसमा प्राध्यापक गर्नुभएका नेम्वाङले भरतराज उप्रेती, वैद्यनाथ उपाध्यायसहितको टिमसंग पायोनियर ल एसोसिएट्स चलाएर ख्याती पाउनुभएको थियो । २०४८ असारमा प्रनिनिधिसभाका सदस्यले निर्वाचित गर्ने ३५ जना मध्ये एमालेबाट राष्ट्रियसभा  सदस्यमा निर्वाचित भएपछि उहाँ जीवन प्रयन्त संसदीय अभ्यासमा रहनुभएको थियो । 

नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हाल्नुभएकाे थियाे । उहाँ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो। उहाँ त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नुभएकाे थियाे ।

प्रतिक्रिया