हुम्लामा उपभोक्तालाई कुहिएको चामल ब्रिकी
सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले उपभोक्तालाई कुहिएको चामल ब्रिकी गरेको पाइएको छ।
खाद्यले नाम्खा गाउँपालिका–५ मुचु गाउँका स्थानीयलाई बिक्री गरेको चामल कुहिएको पाइएको हो। उक्त चामल केही दिनअघि खाद्यले सप्लायर्समार्फत काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बतको बाटोबाट हिल्सासम्म ढुवानी गराएको थियो।
नाम्खा गाउँपालिका–५ की पेमा आङ्मु तामाङले आफूले खरिद गरेर ल्याएको चामल कुहिएको बताउनुभयो । उक्त चामल एक घरधुरीलाई चार बोराको दरले बिक्री गरिएको थियो। चार बोरामध्ये दुई बोरा कुहिएको तामाङले बताउनुभयो ।
२५ किलो तौलको उक्त चामल बोराको २ हजार ३७५ रूपैयाँमा किनेको तर घर पुगेर बोरा खोल्दा चामल कुहिएको पाइएको स्थानीय जंग लामाले बताउनुभयो । ५० घरधुरीका स्थानीयले किनेको उक्त चामलका अधिकांश बोरा कुहिएको पाइएको छ।
लिमिटेडका सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेकोले कारण कुहिएको बताउनुभयो ।
काठमाडौँ–केरूङ हुँदै तिब्बति मार्गबाट हिल्सासम्म चार हजार क्वीन्टल खाद्यान्न ढुवानी भएको थियो। त्यसमा एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो। त्यसमध्ये १७० क्वीन्टल खाद्यन्न लिमीमा पठाइएको थियो। लिमी पुगेको चामल पनि दुई बोरा कुहिएको भेटिएको छ।
सिमकोट पुगेको चामल पनि चौध बोरा कुहिएको भेटिएकाले छुट्टै राख्ने व्यवस्था लिमिटेडले गरेको छ। उनले कुहिएको खाद्यन्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताउनुभयो । खाद्यले चामल कुहिएको भए पैसा फिर्ता दिने बताएको छ। कुहिएको खाद्यन्न भने राम्रोसँग राख्न उनले आग्रहसमेत गरेका छन् ।-देश सञ्चार
प्रतिक्रिया